Genèse 41
Les songes de Pharaon
1पूरा दुई वर्ष बितिसकेपछि फारोले एउटा सपना देखे; सपनामा तिनी नील नदीको किनारमा उभिरहेका थिए। 2अनि नील नदीबाट सात वटा चिल्ला र मोटा गाईहरू निस्केर आए, र काँसको घारीमा चर्न थाले। 3त्यसपछि तिनीहरूका पछि-पछि अरू सात वटा कुरूप र दुब्ला गाईहरू नील नदीबाट बाहिर निस्के, र ती पहिलेका गाईहरूसँगै किनारको छेउमा उभिए। 4अनि ती कुरूप र दुब्ला गाईहरूले ती चिल्ला र मोटा गाईहरूलाई खाइदिए। त्यसपछि फारो बिउँझे। 5उनी फेरि निदाए, र दोस्रो सपना देखे: अन्नका सात वटा भरिला र असल बालाहरू एउटै डाँठमा फलिरहेका थिए। 6त्यसपछि अन्नका अरू सात वटा पातला र पूर्वीय बतासले ओइलाएका बालाहरू निस्के। 7अनि ती पातला अन्नका बालाहरूले भरिला सात वटा बालाहरूलाई निलिदिए। त्यसपछि फारो बिउँझे; अनि यो त पो सपना रहेछ भनी थाहा पाए। 8बिहान उनको मन विचलित भयो; त्यसकारण उनले इजिप्टका सबै जादुगर र ज्ञानी मानिसहरूलाई बोलाए। फारोले तिनीहरूलाई आफ्ना सपनाहरू बताए; तर उनका निम्ति ती सपनाका अर्थ खोलिदिन कसैले पनि सकेनन्।
9तब त्यस मुख्य मद्य टक्र्याउनेले फारोलाई भने, “आज मलाई मेरो गल्ती याद आएको छ। 10एकपल्ट फारो आफ्ना सेवकहरूसँग रिसाउनुभएको थियो। अनि उहाँले मलाई र मुख्य भान्सेलाई अङ्गरक्षकका सेनापतिको घरको झ्यालखानामा थुन्नुभयो। 11हामी दुवैले एकै रात सपना देख्यौँ, र ती प्रत्येक सपनाको आ-आफ्नै अर्थ थियो। 12त्यहाँ हामीसँग एउटा हिब्रू जवान अङ्गरक्षकका सेनापतिका सेवक थिए। हामीले तिनलाई आफ्ना सपनाहरू बतायौँ; अनि तिनले हामीलाई हाम्रा आ-आफ्नो सपनाअनुसारको अर्थ खोलिदिए। 13अनि तिनले हामीलाई अर्थ खोलिदिएजस्तै भयो: म आफ्नो काममा फेरि नियुक्त भएँ, तर अर्को मानिसचाहिँ झुन्ड्याइयो।”
Joseph interprète les songes
14यसकारण फारोले योसेफलाई बोलाउन पठाए; अनि तिनलाई झट्टै झ्यालखानाबाट बाहिर ल्याइयो। अनि तिनले आफ्नो दाह्री खौरे, र आफ्नो वस्त्र फेरेपछि तिनी फारोको सामु आए। 15फारोले योसेफलाई भने, “मैले एउटा सपना देखेको छु, तर कसैले पनि त्यसको अर्थ खोल्न सकेनन्। तिमीले सपना सुनेपछि त्यसको अर्थ खोल्न सक्छौ भन्ने मैले सुनेको छु।” 16योसेफले फारोलाई जवाफ दिए, “यसो गर्न मेरो शक्तिभन्दा बाहिरको कुरा हो,” “तर परमेश्वरले नै फारोलाई उहाँले चाहे अनुसारको जवाफ दिनुहुनेछ।” 17तब फारोले योसेफलाई भने, “मेरो सपनामा म नील नदीको किनारमा उभिरहेको थिएँ; 18अनि नील नदीबाट सात वटा चिल्ला र मोटा गाईहरू निस्केर आए, र काँसको घारीमा चर्न थाले। 19त्यसपछि तिनीहरूका पछि-पछि अरू सात वटा घिनलाग्दा, कुरूप र अति दुब्ला गाईहरू निस्किआए। मैले इजिप्टमा कुरूप र दुब्ला गाईहरू कहिल्यै देखेको थिइनँ। 20अनि दुब्ला र कुरूप गाईहरूले ती पहिले आएका सात वटा मोटा गाईहरूलाई खाइदिए। 21तर तिनीहरूले ती सात वटालाई खाइसकेपछि पनि तिनीहरूले खाए भनेर कसैले भन्न सकेनन्; किनकि तिनीहरू पहिलेजस्तै कुरूप देखिन्थे। त्यसपछि म बिउँझेँ।
22“मेरो दोस्रो सपनामा मैले अन्नका सात वटा भरिला र असल बालाहरू एउटै डाँठमा फलिरहेका देखेँ। 23तिनीहरूको पछि ती ओइलाएका, पातला र पूर्वीय बतासले झूल्सेका अन्नका सात वटा बालाहरू निस्के। 24ती पातला अन्नका बालाहरूले असल बालाहरूलाई निलिदिए। मैले यो कुरा जादुगरहरूलाई भनेँ, तर मलाई यसको अर्थ खोलिदिन कसैले पनि सकेनन्।” 25तब योसेफले फारोलाई भने, “हजुरका सपनाहरू एउटै र उस्तै हुन्। परमेश्वरले के गर्न लाग्नुभएको छ, सो फारोलाई प्रकाश पारिदिनुभएको छ। 26ती सात वटा मोटा गाईहरू सात वर्ष हुन्, र ती सात वटा भरिला बालाहरूचाहिँ सात वर्ष हुन्; दुवै सपनाको अर्थ एउटै हो। 27ती पछिबाट आउने सात वटा कुरूप र दुब्ला गाईहरू सात वर्ष हुन्; त्यसै गरी ती पातला र पूर्वीय बतासले ओइलाएका सात वटा बालाहरू: ती अनिकालका सात वर्ष हुन्। 28“मैले फारोलाई भनेझैँ यो हुनेछ: परमेश्वरले जे गर्न लाग्नुभएको छ, सो फारोलाई प्रकाश गरिदिनुभएको छ। 29इजिप्टभरि सात वर्षसम्म ठूलो सहकाल हुनेछ;
30तर त्यसपछि सात वर्षसम्म अनिकालले पछ्याउनेछ। तब इजिप्टमा भएका सबै सहकालहरू बिर्सिइनेछ; अनि अनिकालले देशलाई नाश पार्नेछ। 31यस्तो घोर अनिकाल हुनेछ, कि देशमा पहिलेको सहकालको स्मरणसमेत रहनेछैन। 32फारोलाई दिइएको दुई प्रकारका सपनाको कारणचाहिँ यो हो: यो कुरा गर्न परमेश्वरले दृढतापूर्वक निर्णय गर्नुभएको छ, र परमेश्वरले यो कुरा चाँडै गर्नुहुनेछ। 33“अब फारोले विवेकी र बुद्धिमान् मानिस खोजेर तिनलाई इजिप्टको जिम्मा दिएर राखून्। 34ती इजिप्टका सात वर्षका सहकालका समयमा उब्जनीको पाँचौँ भाग बटुल्नका लागि फारोले हाकिमहरू नियुक्त गरून्। 35तिनीहरूले यी आउने असल वर्षहरूका सबै अन्नहरू जम्मा गरेर सहरहरूमा भोजनका निम्ति प्रयोग गरिनलाई फारोको अख्तियारमा भण्डारण गरून्। 36यो अन्नचाहिँ इजिप्टमा आउँदैगरेको सात वर्षको अनिकालको समयमा प्रयोग गरिनलाई भण्डारमा जोगाइराख्नुपर्छ, ताकि देश अनिकालले नष्ट नहोस्।”
Joseph établi sur l'Égypte
37त्यो योजना फारो र उनका सबै पदाधिकारीहरूलाई असल लाग्यो। 38यसकारण फारोले तिनीहरूलाई सोधे, “के परमेश्वरको आत्मा भएका यिनीजस्ता अरू मानिस पाऔँला?” 39तब फारोले योसेफलाई भने, “परमेश्वरले तिमीलाई यी सबै कुरा प्रकट गरिदिनुभएको कारण तिमीजस्तो विवेकशील र बुद्धिमानी मानिस अरू कोही छैन। 40तिमी मेरो राजमहलका हर्ताकर्ता हुनेछौ, र मेरा सबै प्रजा तिम्रो हुकुमको अधीनमा हुनेछन्। सिंहासनको विषयमा मात्र म तिमीभन्दा ठूलो हुनेछु।” 41यसकारण फारोले योसेफलाई भने, “अबदेखि मैले तिमीलाई सम्पूर्ण इजिप्टको जिम्मेवारी सुम्पेको छु।” 42तब फारोले आफ्नो औँलाबाट छाप-औँठी झिकेर योसेफका औँलामा लगाइदिए। उनले तिनलाई मलमलको लबेदा पहिर्याइदिए; र तिनको गलामा सुनको सिक्री लगाइदिए। 43उनले तिनलाई आफ्नो दोस्रो दर्जाको अधिकारीको रूपमा रथमा सवार गराए; अनि मानिसहरू उनका अगि-अगि “बाटो छोड्!” भन्दै कराए। यसरी उनले तिनलाई सम्पूर्ण इजिप्ट देशमाथि अख्तियारवाला बनाए। 44तब फारोले योसेफलाई भने, “म फारो हुँ; तर तिम्रो हुकुमविना इजिप्टभरि कसैले पनि हात वा खुट्टा उठाउन पाउनेछैन।”
45फारोले योसेफलाई सापनान-पानेह नाम दिए; अनि ओनका पुजारी पोतीफेराकी छोरी आसनतलाई तिनकी पत्नी हुनलाई दिए। अनि योसेफले इजिप्टभरि भ्रमण गरे।
Les sept années d'abondance
46इजिप्टका राजा फारोको सेवामा प्रवेश गर्दा योसेफ तीस वर्ष पुगेका थिए। अनि योसेफ फारोको उपस्थितिबाट निस्किएर गए, र इजिप्टभरि भ्रमण गरे। 47सात वर्षको सहकालमा देशमा प्रशस्त उब्जनी भयो। 48योसेफले ती सात वर्षहरूमा इजिप्टमा प्रशस्त गरी उब्जिएका सबै अन्न संकलन गरे, र सहरहरूमा जम्मा गरे। प्रत्येक सहरका छेउछाउका खेतहरूमा भएका उब्जनी तिनले सहरहरूमा थन्क्याए। 49योसेफले समुद्रको बालुवासरह धेरै परिमाणमा अन्न जम्मा गरे; त्यो अन्न यति धेरै थियो कि नाप्न पनि नसकेकोले तिनले त्यसको हिसाब राख्नै छोडिदिए। 50अनिकालका वर्षहरू आउनुभन्दा अगि ओनका पुजारी पोतीफेराकी छोरी आसनतबाट योसेफका दुई छोराहरू जन्मे। 51योसेफले जेठोको नाम मनश्शे राखेर यसो भने, “योचाहिँ परमेश्वरले मेरा सबै कष्ट र मेरा पिताका सबै घरानालाई बिर्सन दिनुभएको कारणले गर्दा हो।” 52दोस्रो छोराको नाम तिनले एफ्राइम राखेर भने, “योचाहिँ मेरो कष्टको देशमा परमेश्वरले मलाई फलिफाप गराउनुभएको कारणले गर्दा हो।”
La famine commence
53इजिप्टमा सात वर्षको सहकाल समाप्त भयो; 54अनि योसेफले भनेझैँ सात वर्षको अनिकाल सुरु भयो। अरू सबै देशहरूमा अनिकाल पर्यो, तर इजिप्टभरि चाहिँ भोजन थियो। 55जब सारा इजिप्टका मानिसहरूले अनिकालको अनुभव गर्न थाले, तब मानिसहरू भोजनका लागि फारोसित बिलौना गर्न लागे। तब फारोले सबै इजिप्टियनहरूलाई भने, “योसेफकहाँ जाओ, र तिनले तिमीहरूलाई जे भन्छन्, त्यही गर।” 56यसरी अनिकाल सारा देशभरि फैलियो। योसेफले सम्पूर्ण भण्डारहरू खोलिदिए, र इजिप्टियनहरूलाई अन्न बेचे; किनकि इजिप्टभरि नै घोर अनिकाल फैलिएको थियो। 57अनि सबै देशका मानिसहरू योसेफबाट अन्न किन्नलाई इजिप्टमा आए; किनकि संसारभरि नै जताततै घोर अनिकाल परेको थियो।