Exode 4

Le bâton changé en serpent

1तब मोशाले जवाफ दिए, “यदि तिनीहरूले मलाई विश्‍वास गरेनन् अथवा मेरा कुरा सुनेनन् र ‘याहवेह तिमीसित देखा पर्नुभएको होइन’ भनेर जवाफ दिए भने के गर्ने?” 2तब याहवेहले तिनलाई भन्‍नुभयो, “तेरो हातमा भएको त्यो के हो?” तिनले भने, “एउटा लहुरो।” 3याहवेहले भन्‍नुभयो, “त्यसलाई भुइँमा फाल्।” मोशाले त्यसलाई भुइँमा फाले, र त्यो एउटा सर्प भयो, र मोशा डराएर भागे। 4तब याहवेहले तिनलाई भन्‍नुभयो, “आफ्नो हात पसारेर त्यसको पुच्छरमा समात्।” यसकारण मोशाले हात पसारेर त्यस सर्पलाई समाते, र त्यो तिनको हातमा पहिलेझैँ लहुरो भइगयो। 5याहवेहले भन्‍नुभयो, “यो याहवेह तिनीहरूका पितापुर्खाका परमेश्‍वर—अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर तिमीकहाँ देखा पर्नुभएको हो भनी तिनीहरूले विश्‍वास गरून् भनेर हो।”

La main devenue lépreuse

6तब याहवेहले भन्‍नुभयो, “तेरो हात तेरो वस्त्रभित्र हाल्।” यसकारण मोशाले आफ्नो हात आफ्नो वस्त्रभित्र हाले; अनि जब तिनले त्यसलाई बाहिर निकाले, तब त्यसमा कुष्‍ठरोग लागेर हिउँझैँ सेतो भयो। 7उहाँले भन्‍नुभयो, “अब त्यसलाई आफ्नो वस्त्रभित्र फेरि हाल्।” यसकारण मोशाले आफ्नो हात फेरि वस्त्रभित्र हाले, र जब तिनले त्यसलाई बाहिर निकाले, त्यो शरीरका अरू भागझैँ सद्दे भइहाल्यो। 8तब याहवेहले भन्‍नुभयो, “यदि तिनीहरूले तँलाई विश्‍वास गरेनन् अथवा पहिलो अद्‌भुत चिन्हमा ध्यान दिएनन् भने तिनीहरूले दोस्रोमा विश्‍वास गर्लान्। 9तर यदि तिनीहरूले यी दुई अलौकिक चिन्हहरूमाथि विश्‍वास गरेनन्, अथवा तेरो कुरा सुनेनन् भने नील नदीबाट केही पानी लिएर त्यसलाई ओबानो भूमिमा पोखाई दिनू। तैँले नदीबाट लिएको पानी सुक्खा भूमिमा रगत हुनेछ।”

Aaron parlera pour toi

10मोशाले याहवेहलाई भने, “माफ गर्नुहोला, हे प्रभु। म बोल्नमा सिपालु छैनँ, न त पहिले म सिपालु थिएँ; न अहिले तपाईं बोल्नुभएपछि म सिपालु भएको छु; किनकि म बोल्नमा र जिब्रो चलाउनमा ढिलो छु।” 11याहवेहले तिनलाई भन्‍नुभयो, “मानिसलाई बोल्ने मुख कसले दियो? त्यसलाई लाटो वा बहिरो, देख्ने वा नेदेख्ने भनी कसले निर्णय गर्छ? के त्यो म याहवेहले नै होइनँ र? 12अब जा; म तँलाई बोल्न सहायता गर्नेछु, र तैँले भन्‍नुपर्ने कुरा सिकाउनेछु।” 13तर मोशाले भने, “हे प्रभु, म तपाईंको दास बिन्ती गर्छु, कृपया अरू कसैलाई पठाउनुहोस्।” 14तब मोशाप्रति याहवेहको क्रोध दन्कियो, र उहाँले भन्‍नुभयो, “लेवी कुलको हारून तेरो दाजु होइन र? ऊ राम्ररी बोल्न सक्छ भनी म जान्दछु। त्यो तँसित भेट गर्न आइरहेको छ; र तँलाई देखेर उसको हृदय प्रसन्‍न हुनेछ। 15तँ उसित बोल्नेछस् र उसको मुखमा शब्द हालिदिनेछस्। म तिमीहरू दुवैलाई बोल्न सहायता गर्नेछु, र के गर्नुपर्छ, सो सिकाउनेछु। 16उसले तेरा निम्ति मानिसहरूसित बोलिदिनेछ, र ऊ तेरो मुखपात्र हुनेछ; अनि तँ उसका निम्ति ईश्‍वरतुल्य हुनेछस्। 17तर यो लहुरो तेरो हातमा लिनू, र तैँले यसद्वारा अलौकिक चिन्हहरू देखाउनेछस्।”

Moïse retourne en Égypte

18तब मोशा आफ्ना ससुरा यित्रोकहाँ फर्किगएर उनलाई भने, “मेरा आफ्नै दाजुभाइहरू इजिप्टमा कोही जीवितै छन् कि छैनन् भनेर हेर्न मलाई त्यहाँ जान दिनुहोस्।” यित्रोले भने, “शान्तिसित जाऊ।” 19याहवेहले मोशालाई मिद्यानमा भन्‍नुभएको थियो, “इजिप्टमा फर्केर जा; किनकि तँलाई मार्न चाहनेहरू सबै मरिसके।” 20यसकारण मोशाले आफ्ना पत्नी र छोराहरू लिएर तिनीहरूलाई गधामाथि चढाए; अनि इजिप्टतिर लागे। अनि तिनले परमेश्‍वरको लहुरो आफ्नो हातमा लिए। 21याहवेहले मोशालाई भन्‍नुभयो, “जब तँ इजिप्टमा फर्कनेछस्, तब तैँले सबै अद्‌भुत कार्यहरू, जसका लागि मैले तँलाई शक्ति दिएको छु, फारोको सामु देखाउन नभुल्नू। तर म त्यसको हृदय कठोर पारिदिनेछु, र त्यसले मानिसहरूलाई जान दिनेछैन। 22तब फारोलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: इस्राएल मेरो जेठो छोरा हो, 23र म तँलाई आदेश दिन्छु, “मेरो छोरालाई जान दे, र त्यसले मेरो आराधना गरोस्।” तर तैँले त्यसलाई जान दिइनस्, यसकारण म तेरो जेठो छोरालाई मार्नेछु।’ ” 24बाटोको एउटा बास बस्‍ने ठाउँमा याहवेहले मोशालाई भेटेर मार्न खोज्नुभएको थियो। 25तर सिप्पोराले एउटा ढुङ्गाको चक्‍कु लिएर आफ्नो छोराको खलडी च्वाट्ट काटेर त्यसले मोशाको खुट्टामा छोइदिइन्। तिनले भनिन्, “तपाईं निश्‍चय मेरा निम्ति रगतको दुलहा हुनुहुन्छ।”

26यसकारण याहवेहले तिनलाई छोडिदिनुभयो। (त्यस बेला तिनले खतनालाई दर्शाउँदै “रगतको दुलहा” भनिन्।)

Le peuple croit

27याहवेहले हारूनलाई भन्‍नुभयो, “मोशालाई भेट्न उजाडस्थानमा जा।” यसकारण तिनले मोशालाई परमेश्‍वरको पर्वतमा भेटे, र तिनलाई चुम्बन गरे। 28तब मोशाले तिनलाई याहवेहले जे भन्‍न पठाउनुभएको थियो, त्यो हरेक वचन, र तिनलाई उहाँले गर्नू भनेर हुकुम गर्नुभएका सबै अलौकिक चिन्हहरूको विषयमा हारूनलाई बताए। 29मोशा र हारूनले इस्राएलका सबै प्रधानहरूलाई एकै ठाउँमा भेला पारे। 30अनि हारूनले तिनीहरूलाई याहवेहले मोशालाई भन्‍नुभएका सबै कुराहरू सुनाइदिए। तिनले मानिसहरूका अगि अलौकिक चिन्हहरू पनि देखाए, 31र इस्राएलीहरूले विश्‍वास गरे। अनि तिनीहरूले जब याहवेहले तिनीहरूप्रति वास्ता राख्नुभएको छ, र उहाँले तिनीहरूको कष्‍ट देख्नुभएको छ भनी सुने, तब तिनीहरूले निहुरेर आराधना गरे।

Copié !
Aa