4 Царств 19

Исаия шлет слово надежды

1जब हिजकिया राजाले यो कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते र भाङ्ग्रा लगाएर याहवेहको मन्दिरभित्र गए। 2तिनले राजमहलका प्रशासक एल्याकीम, सचिव शेब्ना र प्रमुख पुजारीहरूलाई भाङ्ग्रा लगाएर आमोजका छोरा यशैया अगमवक्ताकहाँ पठाए। 3तिनीहरूले तिनलाई भने, “हिजकिया यसो भन्‍नुहुन्छ: आजको दिन छोराछोरी जन्मनै लाग्दा आमालाई जन्माउन बल नभएकोझैँ कष्‍ट, निन्दा र तिरस्कारको दिन भएको छ। 4सायद याहवेह तपाईंका परमेश्‍वरले मैदानका सेनापतिले भनेका सबै कुरा सुन्‍नुभएको छ होला, जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्‍वरलाई ठट्टा गर्न पठाएका छन्। याहवेह तपाईंका परमेश्‍वरले सुन्‍नुभएका कुराहरूका निम्ति तिनलाई हपार्नुहुनेछ। यसकारण बाँचेकाहरूका निम्ति प्रार्थना गरिदिनुहोस्।” 5जब राजा हिजकियाका अधिकृतहरू यशैयाकहाँ आए, 6तब यशैयाले तिनीहरूलाई भने, “तिमीहरूका मालिकलाई भन, ‘याहवेह यसो भन्‍नुहुन्छ: तैँले सुनेका ती शब्दहरूका कारण नडरा, जसद्वारा अश्शूरको राजाका अधीनमा रहेका मानिसहरूले मेरो निन्दा गरेका छन्। 7सुन्! म त्यसभित्र यस्तो आत्मा हालिदिनेछु, र त्यसले केही खबर सुनेर त्यो आफ्नै देशमा फर्केर जानेछ। अनि त्यहीँ त्यसलाई म तरवारले मार्न लाउनेछु।’ ”

Богохульное письмо

8त्यस मैदानका सेनापतिले अश्शूरका राजा लाकीशबाट गएका कुरा सुने। तब तिनी फर्केर गए, र राजालाई लिब्नाको विरुद्धमा लडाइँ गरिरहेका भेट्टाए। 9अब सनहेरीबले कूशी राजा तिर्हाकाह आफूसित लडाइँ गर्न आइरहेका छन् भन्‍ने खबर पाए। यसकारण तिनले फेरि यो वचनसहित हिजकियाकहाँ दूतहरू पठाए: 10“यहूदाका राजा हिजकियालाई यसो भन्‍नू, तिमीले भर पर्ने देवताले ‘यरूशलेम अश्शूरका राजाको हातमा दिइनेछैन’ भनेर तिमीलाई उनले छल गर्न नपाऊन्। 11अश्शूरका राजाहरूले सबै देशहरूलाई के गरेका छन् र कसरी सम्पूर्ण रूपले नाश गरेका छन् भनी तिमीले निश्‍चय नै सुनेका छौ, तब के तिमी छुटाइने छौ त?

12के मेरा पितापुर्खाहरूले नाश गरेका जातिहरूका देवताहरूले तिनीहरूलाई छुटाए? अर्थात् गोजान, हारान, रेसेप र तेल-अस्सारमा बस्‍ने अदनका मानिसहरूलाई तिनीहरूका देवताहरूले छुटाए? 13हमातका राजा, अर्पादका राजा, लाइर, सपर्बेम, हेना र इव्वाका राजाहरू कहाँ छन्?”

Езекия развертывает письмо пред Господом

14हिजकियाले ती दूतहरूबाट पत्र पाए, र त्यसलाई पढे। तब तिनी याहवेहको मन्दिर गए र पत्रलाई याहवेहको सामु खोलेर राखिदिए। 15तब हिजकियाले याहवेहसित प्रार्थना गरे: “हे याहवेह, इस्राएलका परमेश्‍वर, करूबहरूका बीचमा सिंहासनमा विराजमान हुनुहुने तपाईं मात्र संसारका सबै राज्यहरूमाथि परमेश्‍वर हुनुहुन्छ। तपाईंले नै स्वर्ग र पृथ्वी बनाउनुभयो। 16हे याहवेह, आफ्नो कान थापेर सुन्‍नुहोस्। हे याहवेह, आफ्ना आँखा खोलेर हेर्नुहोस्; सनहेरीबले जीवित परमेश्‍वरको अपमान गर्न पठाएका कुराहरू सुन्‍नुहोस्। 17“हे याहवेह, यो कुरा साँचो हो, अश्शूरका राजाहरूले यी जाति-जातिहरूका देशहरूलाई उजाड पारेका छन्। 18तिनीहरूले उनीहरूका देवताहरूलाई आगोमा हालेर नष्‍ट गरिदिएका छन्; किनकि तिनीहरूका देवता परमेश्‍वर थिएनन्, तर मानिसहरूका हातले तयार गरिएका काठ र ढुङ्गा मात्र थिए। 19अब हे याहवेह, हाम्रा परमेश्‍वर, हामीलाई त्यसको हातबाट बचाउनुहोस् र पृथ्वीका सम्पूर्ण राज्यहरूले, हे याहवेह, तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ भनी जानून्।”

Ответ против Сеннахирима

20तब आमोजका छोरा यशैयाले हिजकियालाई खबर पठाए: “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले अश्शूरका राजा सनहेरीबको विषयमा तेरो प्रार्थना सुनेँ। 21त्यसको विरुद्धमा याहवेहले यसो भनेर बोल्नुभएको छ: “ ‘सियोनकी कन्ये छोरीले तँलाई तुच्छ ठान्छे र खिसी गर्छे। यरूशलेमकी छोरीले तँ भाग्दा आफ्नो शिर हल्‍लाउँछे। 22तैँले कसको ठट्टा र निन्दा गरेको छस्? कसका विरुद्धमा तैँले आफ्ना आवाज उठाएको छस् र घमण्डमा आफ्ना आँखा उठाएको छस्? इस्राएलका पवित्र परमेश्‍वरको विरुद्धमा!

23आफ्ना दूतहरूद्वारा तैँले प्रभुको निन्दा गरेको छस्। अनि तैँले भनेको छस्, “म आफ्ना धेरै रथहरूसित, पहाडहरूका शिखरहरूमा उक्लेको छु, अँ, लेबनानको सर्वोच्‍च शिखरहरूमा। मैले त्यसका सबैभन्दा अग्ला देवदारुका रूखहरू, त्यसका सर्वोत्तम सल्‍लाका रूखहरू काटेर ढालेको छु। म त्यसका अति दुर्गम ठाउँहरूमा पुगेको छु, त्यसका सर्वोत्तम वनहरूमा। 24मैले परदेशमा इनारहरू खनेको छु, र त्यहाँ पानी पिएको छु। मेरा खुट्टाका पैतालाले मैले इजिप्टका सबै नदीहरू सुकाइदिएको छु।” 25“ ‘के तैँले सुनेको छैनस्? धेरै पहिले नै मैले यो नियुक्त गरेको थिएँ। प्राचीन कालमा नै मैले यो योजना बनाएको थिएँ; अब मैले यसलाई हुन दिएँ, र तैँले सुरक्षित सहरहरूलाई ढुङ्गाका थुप्रोमा परिणत गरेको छस्। 26त्यसका मानिसहरू शक्तिहीन भई, निराश भएर शर्ममा परेका छन्। तिनीहरू बढ्नु अगि नै घामले डढेका खेतका अन्‍नहरूजस्तै, कलिला टुसाझैँ, छतमा उम्रिरहेका घाँसझैँ छन्। 27“ ‘तर तँ कहाँ बस्छस्, अनि तँ कहिले आउँछस् र जान्छस्, अनि तँ कसरी मेरो विरुद्धमा रिसाउँछस्, त्यो म जान्दछु। 28तँ मेरो विरुद्धमा रिसाएकोले र तेरो क्रोध मेरो कानसम्म आइपुगेको कारणले, म आफ्नो अङ्कुसे तेरो नाकमा र आफ्नो लगाम तेरो मुखमा लगाउनेछु; अनि म तँलाई तँ आएकै बाटो भएर तँलाई फर्केर जान लाउनेछु।’ 29“हे हिजकिया, तेरा निम्ति यो चिन्ह हुनेछ: “यो वर्ष तैँले आफैँ उम्रेको कुरा खानेछस्, र दोस्रो वर्ष, त्यसैबाट उम्रेको कुरा खानेछस्। तर तेस्रो वर्षमा छर, र कटनी गर, दाखबारी लगा र त्यसको फल खा। 30एकपल्ट फेरि यहूदाका घरानाका बाँकी रहेकाले जमिनमा जरा हाल्नेछन्, र जमिनमाथि फल फलाउनेछन्।

31किनकि यरूशलेमबाट एउटा बाँचेको भाग र सियोन पर्वतबाट बाँच्नेहरूको एउटा दल निस्कनेछ। “सेनाहरूका याहवेहको जोशले यो सम्पन्‍न गर्नेछ। 32“यसकारण अश्शूरको राजाको विषयमा याहवेह यसो भन्‍नुहुन्छ: “ ‘त्यसले यस सहरमा प्रवेश गर्नेछैन, न त यहाँ एउटा काँड नै हान्‍नेछ। त्यो यसको सामु ढालसित आउनेछैन, न त यसलाई घेराबन्दी लगाउनेछ। 33त्यो त आफू आएकै बाटो भएर फर्कनेछ; त्यसले यस सहरमा प्रवेश गर्नेछैन, याहवेह घोषणा गर्नुहुन्छ। 34म यस सहरलाई रक्षा गरेर बचाउनेछु, मेरो खातिर र मेरो सेवक दावीदको खातिर।’ ”

Ангел поражает стан

35त्यस रात याहवेहका दूतले बाहिर गएर अश्शूरहरूको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे। भोलिपल्ट बिहानै मानिसहरू उठ्दा सबै मरेका लासहरू मात्र देखे! 36यसकारण अश्शूरका राजा सनहेरीब छाउनी भत्काएर हटिगए। तिनी निनवेमा फर्केर त्यहीँ बसे। 37एक दिन तिनी आफ्ना देवता निस्रोकको मन्दिरमा पूजा गरिरहेको बेला तिनका छोराहरू अद्रम्मलेक र शरेसेरले तिनलाई तरवारले मारे; र तिनीहरू अरारातको देशमा भागे। तिनका छोरा एसरहदोन तिनीपछि राजा भए।

Скопировано!
Aa