Salmi 145

Loderò il tuo nome in eterno

1दावीदको प्रशंसाको भजन। हे मेरा परमेश्‍वर, मेरा राजा, म तपाईंलाई उच्‍च पार्नेछु; म सदासर्वदा तपाईंको नामको प्रशंसा गर्नेछु। 2हरेक दिन म तपाईंको प्रशंसा गर्नेछु, र सदासर्वदा तपाईंको नामको स्तुति गर्नेछु। 3याहवेह महान् र प्रशंसाको अति योग्य हुनुहुन्छ; उहाँको महानता अपार छ। 4एक पुस्ताले अर्को पुस्तालाई तपाईंका महान् कामहरूको प्रशंसा गर्नेछन्; तिनीहरूले तपाईंका शक्तिशाली कामहरूको वर्णन गर्नेछन्। 5तिनीहरूले तपाईंका ऐश्‍वर्यको महिमामय वैभवको वर्णन गर्नेछन्— र म तपाईंका आश्‍चर्यपूर्ण कार्यहरूमा मनन गर्नेछु। 6मानिसहरूले तपाईंका अद्‌भुत कार्यहरूका शक्तिको विषयमा चर्चा गर्नेछन्— र म तपाईंका महान् कार्यहरूको घोषणा गर्नेछु। 7तिनीहरूले तपाईंको प्रशस्त भलाइको बारेमा उत्सव मनाउनेछन्, र तपाईंको धार्मिकताबारे आनन्दले जयजयकार गर्नेछन्। 8याहवेह अनुग्रही र कृपालु हुनुहुन्छ; रिसाउनमा ढिलो र अचुक प्रेममा महान् हुनुहुन्छ।

9याहवेह सबैमाथि भलो हुनुहुन्छ; र आफ्ना सारा सृष्‍टिमाथि उहाँले कृपा देखाउनुहुन्छ। 10हे याहवेह, तपाईंले सृष्‍टि गर्नुभएका सबै थोकले तपाईंको प्रशंसा गर्दछन्; तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंको स्तुति गर्नेछन्। 11तिनीहरूले तपाईंको राज्यको महिमाको वर्णन गर्नेछन्; र तपाईंको शक्तिको बखान गर्नेछन्, 12ताकि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू, र तपाईंका राज्यको महिमामय वैभव थाहा पाऊन्। 13तपाईंको राज्य अनन्तको राज्य हो, र तपाईंको प्रभुत्व पुस्तौँ-पुस्तासम्म रहिरहन्छ। आफ्ना सबै प्रतिज्ञामा याहवेह भरोसायोग्य हुनुहुन्छ, र उहाँले गर्नुहुने सबै थोकप्रति विश्‍वासयोग्य हुनुहुन्छ। 14लडेकाहरू सबैलाई याहवेहले सहारा दिनुहुन्छ; दबिएकाहरू सबैलाई उठाउनुहुन्छ। 15सबैका आँखाहरूले तपाईंकै बाटो हेर्दछन्; अनि तपाईंले तिनीहरूलाई उचित समयमा तिनीहरूको भोजन दिनुहुन्छ। 16तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ, र हरेक जीवित प्राणीका इच्छाहरूलाई तृप्‍त पार्नुहुन्छ।

17याहवेह उहाँका सबै मार्गहरूमा धर्मी हुनुहुन्छ, र उहाँले गर्नुहुने सबै थोकप्रति विश्‍वासयोग्य हुनुहुन्छ। 18याहवेहलाई पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ, उहाँलाई सत्यतामा पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ। 19उहाँको भय मान्‍नेहरूका इच्छालाई उहाँले पूरा गर्नुहुन्छ; उहाँले तिनीहरूको पुकार सुन्‍नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ। 20उहाँलाई प्रेम गर्ने सबैलाई याहवेहले रक्षा गर्नुहुन्छ; तर सबै दुष्‍टहरूलाई उहाँले नाश पार्नुहुनेछ। 21मेरो मुखले याहवेहको प्रशंसा गर्नेछ; हरेक प्राणीले सदासर्वदा उहाँको पवित्र नामको प्रशंसा गरून्!

Copiato!
Aa