Revelation 15

The song of Moses and of the Lamb

1मैले स्वर्गमा अर्को ठूलो र आश्‍चर्यजनक चिन्ह देखेँ: सात वटा अन्तिम विपत्तिहरू लिएका सात स्वर्गदूतहरू थिए। यी अन्तिम विपत्तिहरू हुन्; किनकि यी विपत्तिहरूसँगै परमेश्‍वरको क्रोध पूरा हुनेछ। 2अनि मैले आगोसित मिसिएको काँचको समुद्रझैँ देखेँ; अनि समुद्रको किनारमा त्यो पशु र त्यसको मूर्ति अनि त्यसको नामको संख्यामाथि विजयी भएकाहरूलाई देखेँ। तिनीहरूले परमेश्‍वरले दिनुभएका वीणाहरू लिएका थिए। 3तिनीहरूले परमेश्‍वरको सेवक मोशाको र थुमाको गीत गाए: “हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका कामहरू महान् र अचम्मका छन्। राष्ट्रहरूका राजा, तपाईंका मार्गहरू न्यायपूर्ण र सत्य छन्। 4हे प्रभु, तपाईंको डर कसले मान्दैन? अनि तपाईंको नामको महिमा कसले गर्दैन र? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ। सबै राष्ट्रहरू आएर तपाईंको सामु दण्डवत् गर्नेछन्; किनकि तपाईंका धार्मिक कामहरू प्रकट भएका छन्।”

The seven angels with the plagues

5त्यसपछि मैले स्वर्गमा मन्दिर उघारिएको देखेँ, जुनचाहिँ गवाहीको पाल हो। 6त्यस मन्दिरबाट सात स्वर्गदूतहरू सात विपत्तिहरू लिएर बाहिर आए। तिनीहरूले सफा र चम्किलो मलमलको वस्त्र पहिरेका थिए, र छातीमा सुनका पेटी बाँधेका थिए। 7तब ती चार जीवित प्राणीहरूमध्ये एक जनाले ती सात स्वर्गदूतहरूलाई सदासर्वदा जिउनुहुने परमेश्‍वरको क्रोधले भरिएका सात वटा सुनका कचौराहरू दिए। 8अनि परमेश्‍वरको महिमा र उहाँको शक्तिबाट आएको धुवाँले मन्दिर भरियो; अनि ती सात स्वर्गदूतहरूका सात विपत्तिहरू पूरा नभएसम्म कोही पनि मन्दिरभित्र पस्‍न सकेन।

Copied!
Aa