Psalms 149

Praise in the assembly of the faithful

1याहवेहको प्रशंसा गर! याहवेहको निम्ति एउटा नयाँ गीत गाओ, उहाँको प्रशंसा उहाँका विश्‍वासयोग्य जनहरूका सभामा छ। 2इस्राएल आफ्ना सृष्‍टिकर्तामा आनन्दित होओस्; सियोनका मानिसहरू तिनीहरूका राजामा रमाऊन्! 3तिनीहरूले नाच्दै उहाँको नामको प्रशंसा गरून्; र उहाँको निम्ति खैँजडी र वीणाको सङ्गीत बजाऊन्!

4किनकि याहवेह आफ्ना प्रजासित प्रसन्‍न हुनुहुन्छ; उहाँले नम्रहरूलाई विजयको मुकुट पहिर्‍याइदिनुहुन्छ। 5उहाँका विश्‍वासयोग्य जनहरूले यस्तो सम्मानमा आनन्द मनाऊन्; र तिनीहरूले आनन्दको निम्ति आ-आफ्ना ओछ्यानमा गाऊन्! 6तिनीहरूका मुखमा परमेश्‍वरको प्रशंसा होस्, र तिनीहरूका हातमा दुईधारे तरवार होस्, 7ताकि राष्ट्रहरूका विरुद्धमा तिनीहरूले बदला लिनका निम्ति, र जाति-जातिहरूलाई दण्ड दिन; 8तिनीहरूका राजालाई साङ्लाहरूले, र तिनीहरूका भारदारलाई फलामका साङ्लाहरूले बाँध्न; 9तिनीहरूका विरुद्ध लेखिएका मृत्युदण्ड दिन सकून्— यही नै उहाँका सबै विश्‍वासयोग्य जनहरूको महिमा हो। याहवेहको प्रशंसा गर!

Copied!
Aa