Psalms 112
Blessed is the one who fears the Lord
1याहवेहको प्रशंसा गर! त्यो मानिस धन्यको हो, जसले याहवेहको भय मान्दछ, जो उहाँका आज्ञाहरूमा ज्यादै प्रसन्न हुन्छ। 2त्यसका सन्तानहरू पृथ्वीमाथि शक्तिशाली हुनेछन्; धर्मी मानिसहरूका पुस्ताले आशिष् पाउनेछन्। 3त्यसको घरमा धन र सम्पत्ति रहन्छ, र त्यसको धार्मिकता सदाकाल रहिरहन्छ। 4सत्यनिष्ठ मानिसहरू, जो अनुग्रही, दयालु, र धर्मी छन्, तिनीहरूका निम्ति अन्धकारमा पनि ज्योति चम्कन्छ। 5उदार चित्तले ऋण दिनेहरू, र इमानदारीतासाथ आफ्नो कारोबार चलाउने मानिसहरूको भलो हुन्छ। 6अवश्य नै धर्मी जनहरू कहिल्यै डगमगाउनेछैनन्; तिनीहरूको सम्झना सदासर्वदा गरिनेछ। 7खराब समाचारले तिनीहरू कहिल्यै डराउनेछैनन्; याहवेहमा भरोसा गरेकोले तिनीहरूका हृदय दृढ रहन्छ। 8तिनीहरूका हृदय निर्धक्क रहन्छ, र तिनीहरूलाई कुनै डर हुनेछैन; अन्त्यमा तिनीहरूले आफ्ना वैरीहरू हार भएको देख्नेछन्।
9तिनीहरूले गरिबहरूलाई उदारतापूर्वक दान दिएका छन्; तिनीहरूका धार्मिकता सदासर्वदा रहिरहन्छ; तिनीहरूका शिर सम्मानले उच्च रहनेछ। 10दुष्ट मानिस त्यो देखेर कुँडिनेछ; तिनीहरूले आफ्ना दाह्रा किट्नेछन्, र नष्ट हुनेछन्; दुष्टहरूका अभिलाषाहरू विफल हुन्छन्।