Luke 9
Jesus sends out the twelve
1एक दिन येशूले बाह्र जना चेलाहरूलाई एकसाथ बोलाउनुभयो। त्यसपछि तिनीहरूलाई उहाँले भूतआत्माहरू निकाल्ने, रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो। 2अनि उहाँले तिनीहरूलाई परमेश्वरको राज्यको घोषणा गर्न र बिरामीहरूलाई निको पार्न अधिकार दिएर पठाउनुभयो। 3उहाँले तिनीहरूलाई भन्नुभयो: “यात्राका लागि केही पनि नलेओ; न लहुरो, न झोला, न रोटी, न पैसा, न त दुईसरो लुगा। 4जुन घरमा तिमीहरू पस्छौ, त्यो सहरलाई नछोडेसम्म त्यहीँ अतिथीको रूपमा बस। 5यदि मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने तिनीहरूका सहर छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीका निम्ति तिमीहरूका पैतालाको धुलो टक्टक्याइदेओ।” 6तब तिनीहरू बिदा भए; अनि सबैतिर सुसमाचार घोषणा गर्दै र रोगीहरूलाई निको पार्दै गाउँ-गाउँमा गए।
Herod wants to see Jesus
7अब गालील प्रदेशका शासक हेरोदले यी सबै घटनाबारे सुनेर तिनी अन्योलमा परे, किनकि कसै-कसैले यूहन्ना मरेकाबाट जीवित भएका छन् भनी भन्दथे। 8कतिले एलिया देखा परेका छन् भन्दथे। अनि कतिपयले भने उहिलेका अगमवक्ताहरूमध्ये एक जना बौरी उठेर आएका हुन् भन्ने गर्थे। 9तर हेरोदले भने, “मैले नै यूहन्नाको शिर काट्न लगाएँ। त्यसकारण यिनीचाहिँ को हुन्, जसका बारेमा म यस्ता सबै कुराहरू सुन्दैछु?” अनि तिनले उहाँलाई भेट्ने प्रयास गरे।
The feeding of the five thousand
10जब प्रेरितहरू फर्केर आए, तब आफूले गरेका कामका विषयमा येशूलाई बताए। त्यसपछि उहाँले तिनीहरूलाई आफ्नो साथमा लिई बेथसेदा भन्ने एउटा सहरमा सुटुक्कै जानुभयो। 11तर भीडले यो कुरा थाहा पाएर उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्वरको राज्यको विषयमा सिकाउनुभयो। अनि निको हुन आवश्यक भएका जतिलाई निको पार्नुभयो। 12दिन ढल्कन थालेपछि बाह्रै जना उहाँकहाँ आएर भने, “भीडलाई बिदा गर्नुहोस्। तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर खानपान र बास खोजून्, किनकि हामी यहाँ सुनसान ठाउँमा छौँ।” 13उहाँले भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तिनीहरूले जवाफ दिए, “गएर भीडका निम्ति खानेकुरा नकिनेसम्म त अहिले हामीसँग केवल पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।” 14(त्यहाँ पुरुषहरू मात्र लगभग पाँच हजार जति थिए।) तर उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिनीहरूलाई पचास-पचासको समूहमा बसाओ।” 15अनि चेलाहरूले त्यसै गरे र सबै जना बसे। 16ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरेर, उहाँले धन्यवाद दिनुभयो; अनि रोटी भाँच्नुभयो र मानिसहरूमा बाँडिदिनका लागि चेलाहरूलाई दिनुभयो। 17तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।
Peter's confession
18एकपल्ट येशू एकलै प्रार्थना गर्दैहुनुहुन्थ्यो। उहाँका चेलाहरू उहाँसँगै थिए, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई, म को हुँ भन्छन्?” 19तिनीहरूले जवाफ दिए, “कसैले बप्तिस्मा दिने यूहन्ना भन्छन्, कसैले एलिया भन्छन्, अनि कतिले चाहिँ पहिलेका अगमवक्ताहरू मध्येबाट एक जना फेरि उठेर आएका हुन् भनी भन्छन्।” 20उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरूचाहिँ म को हुँ भन्छौ त?” पत्रुसले जवाफ दिए, “परमेश्वरका ख्रीष्ट!”
Jesus foretells his death
21येशूले तिनीहरूलाई यो कुरा कसैलाई नभन्नू भनी कडा आज्ञा दिनुभयो। 22अनि उहाँले भन्नुभयो, “मानिसको पुत्रले धेरै कष्टहरू सहनुपर्छ। प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूबाट तिरस्कृत हुनुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा फेरि जीवित भई उठ्नुपर्छ।”
Take up your cross
23त्यसपछि उहाँले तिनीहरू सबैलाई भन्नुभयो: “यदि कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। 24किनकि जसले आफ्नो जीवन बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो जीवन गुमाउँछ, त्यसैले त्यो बचाउनेछ। 25यदि कुनै मानिसले सारा संसार हात पारेर पनि आफैँलाई नाश पार्छ वा गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र?
26यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्नो, पिताको र पवित्र स्वर्गदूतहरूको महिमामा आउँदा त्यस मानिससँग शर्माउनेछ। 27“म तिमीहरूलाई साँच्चै भन्दछु, यहाँ उपस्थित भएकाहरूमध्ये कतिले परमेश्वरको राज्य आएको नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।”
The transfiguration
28येशूले यो कुरा भन्नुभएको करिब आठ दिनपछि पत्रुस, याकोब र यूहन्नालाई आफ्नो साथमा लिएर प्रार्थना गर्नलाई उहाँ एउटा अग्लो पर्वतमा चढ्नुभयो। 29उहाँले प्रार्थना गर्दै गर्नुहुँदा उहाँको अनुहारको रूप बदलियो, र उहाँको लुगा बिजुली चम्केको झैँ उज्ज्वल भयो। 30दुई व्यक्ति, मोशा र एलिया, येशूसँग बातचित गर्दै महिमित अवस्थामा देखा परे। 31तिनीहरूले उहाँको बिदाइको बारेमा बोलिरहेका थिए, जुन कुरा उहाँले अब यरूशलेममा पूरा गर्न लाग्नुभएको थियो। 32पत्रुस र तिनका साथीहरू निन्द्राले लट्ठ भएका थिए; तर जब तिनीहरू पूर्ण रूपले बिउँझे, तब तिनीहरूले उहाँको महिमा र उहाँसँग उभिरहेका दुई जना मानिसलाई देखे। 33मानिसहरू येशूबाट बिदा भएर जान लाग्दा पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामीलाई यहीँ रहनु असल छ। हामी तीन वटा वासस्थान बनाऔँ; एउटा तपाईंका लागि, एउटा मोशाका लागि र एउटा एलियाका लागि।” आफूले के बोलेका थिए, सो कुराको तिनलाई ख्यालै थिएन। 34तिनी बोलिरहेकै बेलामा एउटा बादल देखा पर्यो। अनि तिनीहरूलाई ढाक्यो, र बादलभित्र प्रवेश गर्न लाग्दा तिनीहरू डराए। 35बादलबाट यसो भन्ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई मैले छानेको हुँ, यिनको कुरा सुन!”
36यो आवाज बोलिएपछि तिनीहरूले येशू एकलै हुनुभएको देखे। चेलाहरूले यो घटनाका कुरा आफैँमा मात्र राखे, र आफूले देखेका कुरा त्यस समयमा तिनीहरूले अरू कसैलाई बताएनन्।
The boy with an unclean spirit
37भोलिपल्ट, जब उहाँहरू पहाडबाट तल आउनुभयो, तब एउटा ठूलो भीड उहाँलाई भेट्न आयो। 38भीडबाट एउटा मानिसले कराएर भन्यो, “गुरुज्यू, मेरो छोरामाथि कृपादृष्टि गरिदिनुहोस् भनी म बिन्ती गर्दछु; किनकि ऊ मेरो एउटै मात्र सन्तान हो। 39एउटा आत्माले उसलाई पक्रन्छ, र ऊ अचानक चिच्याउँछ। त्यस आत्माले उसलाई छोप्छ, र उसले मुखबाट फिँज काढ्छ। त्यसले उसलाई मुस्किलले कहिलेकाहीँ मात्र छोड्छ र त्यसले उसलाई नाश गर्न खोज्दैछ। 40त्यसलाई निकालिदिनका लागि मैले तपाईंका चेलाहरूलाई बिन्ती गरेँ, तर तिनीहरूले सकेनन्।” 41येशूले जवाफ दिनुभयो, “ए अविश्वासी र भ्रष्ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला र तिमीहरूलाई सहूँ? अनि येशूले त्यो केटोको बुबालाई भन्नुभयो, तिम्रो छोरालाई यहाँ ल्याऊ।” 42त्यो केटो आउँदा-आउँदै दुष्ट आत्माले उसलाई भुइँमा पछार्यो र माडारमुडुर पार्यो। तर येशूले त्यस अशुद्ध आत्मालाई हप्काउनुभयो, र केटालाई निको पार्नुभयो, अनि त्यसलाई बुबाको हातमा दिनुभयो।
Jesus foretells his death again
43तिनीहरू सबै परमेश्वरको महान् शक्ति देखेर आश्चर्यचकित भए। सबै मानिसहरू येशूले गर्नुभएका कुरामा छक्क परेका देखेर येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, 44“मैले तिमीहरूलाई जे भन्दैछु, त्यो ध्यानपूर्वक सुन: मानिसको पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछ।” 45तर यसको अर्थ के हो, त्यो तिनीहरूले बुझ्न सकेनन्। तिनीहरूले नबुझून् भनी यो कुरा तिनीहरूबाट गुप्त राखिएको थियो; अनि यसको बारेमा उहाँलाई सोध्न तिनीहरू डराए।
Who is the greatest
46चेलाहरूका बीचमा तिनीहरूमध्ये सबैभन्दा ठूलो को हुने भन्ने विषयमा विवाद सुरु भयो। 47येशूले तिनीहरूका विचार थाहा पाएर एउटा सानो बालकलाई लिनुभयो र आफ्नो छेउमा उभ्याउनुभयो। 48त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “जसले यस बालकलाई मेरो नाममा ग्रहण गर्छ; त्यसले मलाई नै ग्रहण गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्छ; त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ; किनकि जो तिमीहरूमध्ये सबैभन्दा सानो छ, त्यही नै सबैभन्दा महान् हुन्छ।” 49यूहन्नाले भने, “गुरुज्यू, हामीले एक जना मानिसलाई तपाईंको नाममा भूतहरू निकालिरहेको देख्यौँ। अनि हामीले त्यसलाई रोक्यौँ, किनकि ऊ हाम्रो समूहको होइन।” 50येशूले भन्नुभयो, “त्यसलाई नरोक; किनकि जो तिम्रो विरुद्धमा छैन, त्यो तिम्रो पक्षमा हुन्छ।”
A Samaritan village refuses him
51जब उहाँको स्वर्ग उठाइलगिने दिन नजिक आउँदैथियो, तब येशूले यरूशलेमतिर जाने निश्चय गर्नुभयो। 52उहाँले समाचार लाने मानिसहरूलाई अगि-अगि पठाउनुभयो; जो उहाँका निम्ति सबै कुरा तयार पार्न सामरीहरूको एउटा गाउँमा गए। 53तर त्यहाँका मानिसहरूले उहाँ यरूशलेम जान लाग्नुभएको हुनाले उहाँलाई स्वागत गरेनन्। 54उहाँका चेलाहरू याकोब र यूहन्नाले यो देखेपछि उहाँलाई सोधे, “प्रभु, के यिनीहरूलाई भस्म गर्न एलियाझैँ हामीले पनि स्वर्गबाट आगो बर्सने आज्ञा गरौँ भन्ने तपाईं चाहनुहुन्छ?” 55तर येशूले फर्केर तिनीहरूलाई हप्काउनुभयो, 56र उहाँहरू अर्कै गाउँतिर जानुभयो।
The cost of following Jesus
57उहाँहरू बाटोमा हिँडिरहनुभएको बेला एक जना मानिसले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुभए तापनि म तपाईंको पछि-पछि लाग्नेछु।” 58येशूले भन्नुभयो, “फ्याउराहरूका ओडार छन्, र आकाशका चराहरूका गुँड छन्, तर मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ पनि छैन।” 59उहाँले अर्को मानिसलाई भन्नुभयो, “मेरो पछि लाग।” तर त्यसले भन्यो, “प्रभु, पहिले मलाई मेरा बुबाको लास गाड्न जान दिनुहोस्।” 60येशूले त्यसलाई भन्नुभयो, “मुर्दाले तिनीहरूका आफ्नै मुर्दा गाडून्। तर तिमी गएर परमेश्वरको राज्यको घोषणा गर।” 61अझै अर्कोले भन्यो, “प्रभु, म तपाईंलाई पछ्याउनेछु, तर पहिले मलाई गएर मेरा परिवारबाट बिदा लिन दिनुहोस्।” 62येशूले जवाफ दिनुभयो, “आफ्नो हात हलोमा राखेर पछिल्तिर फर्केर हेर्ने कुनै पनि मानिस परमेश्वरको राज्यको सेवामा योग्य हुँदैन।”