Job 20
Zophar speaks of the wicked
1तब सोपर नमातीले जवाफ दिए: 2“मेरा पीडित विचारहरूले मलाई जवाफ दिन उक्साउँछ; किनकि म धेरै विचलित भएको छु। 3जब म मेरो अपमान हुने गालीहरू सुन्छु, मेरो समझशक्तिले मलाई जवाफ दिन उत्प्रेरित गर्छ। 4“निश्चय नै तपाईंले जान्नुहुन्छ, कि यो उहिलेदेखि नै हुँदैआएको छ, मानव-जातिलाई यो पृथ्वीमा राखिएको समयदेखि नै यो हुँदैआएको छ, 5कि दुष्ट मानिसहरूको खुशी एकछिनको लागि, र ईश्वरहीनहरूको आनन्द क्षणभरको लागि मात्र रहन्छ। 6यद्यपि ईश्वरहीन मानिसको घमण्ड आकाशसम्मै पुग्ला र त्यसको टाउकोले बादलहरूलाई नै छुइएला, 7तर त्यो आफ्नो मलजस्तै, सदाको निम्ति नाश भएर जानेछ; त्यसलाई देखेकाहरूले भन्नेछन्, ‘खोइ, त्यो कहाँ छ?’ 8कहिल्यै पाउन नसकिने सपनाजस्तै त्यो उडेर जान्छ, रातको दर्शनजस्तै लोप भएर जान्छ।
9त्यसलाई देखेका आँखाहरूले त्यसलाई फेरि देख्नेछैनन्; त्यसको ठाउँले त्यसलाई फेरि चिन्नेछैन। 10त्यसका छोराछोरीहरूले गरिबहरूसँग भीख माग्नैपर्छ; त्यसका आफ्नै हातहरूले आफ्नो धन फर्काइदिनैपर्छ। 11त्यसका हड्डीहरूमा भरिएका यौवन त्यसको मृत्युसँग धुलोमा सुतिजानेछ। 12“दुष्टता त्यसको मुखमा मिठो भए तापनि र यसलाई त्यसले आफ्नो जिब्रोमुनि लुकाउँछ, 13तथापि त्यसले त्यो छोड्न सक्दैन, त्यसको मुखमै रहिरहे तापनि 14त्यसको भोजन त्यसको पेटमा अमिलो बन्नेछ; र त्यो सर्पको विषजस्तै त्यसभित्र परिवर्तन हुनेछ। 15त्यसले निलेको धनसम्पत्ति त्यसले फेरि ओकलेर बाहिर निकाल्नेछ; परमेश्वरले त्यसको पेटलाई त्यो सबै ओकल्न लगाउनुहुनेछ। 16त्यसले सर्पको विष चुस्नेछ; विषालु सर्पको लामो दाँतले त्यसलाई मार्नेछ।
17त्यसले खोलाहरू अर्थात् मह र नौनी बहने नदीहरूमा आनन्द लिन पाउनेछैन। 18त्यसले परिश्रम गरेका कुराहरूको उपभोग नगरी फिर्ता दिनुपर्छ; त्यसले आफ्नो व्यापारका नाफाहरूमा आनन्द मनाउन पाउनेछैन। 19किनकि त्यसले गरिबलाई अत्याचार गरेको छ, र तिनीहरूलाई त्यागेको छ; र त्यसले आफूले नबनाएको घर कब्जा गरेको छ। 20“निश्चय नै त्यसले आफ्नो लालसाबाट विश्राम पाउनेछैन; त्यसले आफ्नो धनसम्पत्तिद्वारा आफूलाई बचाउन सक्दैन। 21त्यसको निम्ति खानलाई केही पनि बाँकी रहेको छैन; त्यसको समृद्धि धेरै दिनसम्म रहँदैन। 22त्यसको प्रशस्तताको समयमा, त्यसमाथि विपत्ति आइपर्नेछ; जोडले कष्टको बोझ त्यसमाथि आइपर्नेछ। 23त्यसले आफ्नो पेट भरेको बेला, परमेश्वरले आफ्नो बल्दो रिस त्यसको विरुद्ध खन्याउनुहुनेछ, र त्यसमाथि आफ्नो मुक्का बर्साउनुहुनेछ। 24त्यो फलामको हतियारबाट बाँचे तापनि काँसोको टुप्पो भएको काँडले त्यसलाई छेड्नेछ।
25त्यसले त्यो आफ्नो पिठिउँबाट थुतेर निकाल्छ, र चम्किरहेको काँडको टुप्पोले त्यसको कलेजो छेड्नेछ। अनि त्रास त्यसमाथि आइपर्नेछ। 26त्यसको धनसम्पत्तिलाई घोर अन्धकारले ढुकेर बस्छ; नफुकेको आगोले त्यसलाई भस्म पार्नेछ; र त्यसको घरमा बाँकी भएका कुराहरूलाई स्वाहा पार्नेछ। 27आकाशले त्यसको दोष उदाङ्गो पारिदिनेछ; पृथ्वी त्यसको विरुद्धमा उठ्नेछ। 28त्यसको घरलाई बाढीले, र परमेश्वरको क्रोधको दिनको उर्लंदो भलले बगाएर लैजानेछ। 29परमेश्वरले दुष्ट मानिसको दशा यसरी नै तोकिदिनुभएको छ, परमेश्वरले तिनीहरूको निम्ति यस्तै प्रतिफल तोकिदिनुभएको छ।”