Isaiah 14
The Lord will have compassion
1याहवेहले याकोबमाथि दया देखाउनुहुनेछ; फेरि एकपल्ट उहाँले इस्राएललाई चुन्नुहुनेछ; अनि तिनीहरूलाई तिनीहरूका आफ्नै देशमा बसाल्नुहुनेछ। परदेशीहरू तिनीहरूसित मिल्नेछन् र याकोबका घरानासित तिनीहरू मिलेर बस्नेछन्। 2राष्ट्रहरूले तिनीहरूलाई लगेर तिनीहरूको आफ्नै ठाउँमा ल्याइदिनेछन्। अनि इस्राएलले जातिहरूलाई याहवेहको देशमा आफ्ना दास-दासीहरू बनाउनेछ। तिनीहरूलाई पक्रनेहरूलाई तिनीहरूले आफ्ना कैदी बनाउनेछन्; अनि तिनीहरूमाथि थिचोमिचो गर्नेहरूमाथि शासन गर्नेछन्।
How you have fallen from heaven
3याहवेहले तिमीहरूलाई कष्ट, चिन्ता र कठिन परिश्रमबाट मुक्त गर्नुभएको दिन, 4तिमीहरूले बेबिलोनको राजाको विरुद्धमा यसरी खिसी गर्नेछौ: अत्याचारी कसरी नाश भयो! त्यसको अत्याचार कसरी समाप्त भयो! 5याहवेहले दुष्टको लहुरो, शासकहरूको राजदण्ड भाँचिदिनुभएको छ। 6जसले रिसमा मानिसहरूलाई लगातार मुक्का लगाइरहन्थ्यो; अनि रिसमा राष्ट्रहरूलाई लगातार आक्रमणद्वारा अधीनमा राखेको थियो। 7सारा देश विश्राम र शान्तिमा छ; तिनीहरू गीत गाइउठ्छन्। 8सल्लाका रूखहरू र लेबनानका देवदारुसमेत तिमीहरूको अवस्था देखेर रमाउँछन् र भन्छन्, “अब तँ ढलिगएको कारणले काठको काम गर्ने कोही पनि आएर हामीलाई ढाल्दैनन्।” 9तेरो आगमनको प्रतीक्षामा पाताल पनि उत्प्रेरित भएको छ; त्यसले तँलाई अभिवादन गर्न मरेका आत्माहरूलाई जगाउँछ— संसारका अगुवा भएर रहेका थिए; यसले एकपल्ट जातिहरूमाथि राजा भएकाहरूलाई तिनीहरूका सिंहासनबाट उठाउँछ। 10तिनीहरू सबैले जवाफ दिएर तँलाई यसो भन्नेछन्, “तँ अब हामीजस्तै कमजोर भएको छस्; तँ हामीजस्तै भइस्।”
11तेरा सबै रवाफ, र तेरा वीणाहरूको सोरसितै पातालमा खसालिएको छ; तेरो ओछ्यानमा औँसाहरू छरिएका छन्; अनि किराहरूले तँलाई ढाकेका छन्। 12हे बिहानको तारा, प्रभातको पुत्र, तँ कसरी स्वर्गबाट खसेको छस्! जातिहरूलाई होच्याउने, तँ पृथ्वीमा फ्याँकिएको छस्! 13तैँले आफ्नो हृदयमा भनिस्, “म स्वर्गमा उक्लनेछु; म आफ्नो सिंहासनलाई परमेश्वरका ताराहरूभन्दा माथि उचाल्नेछु; म सभाको पर्वतमाथि सिंहासनमा, शाफोन पर्वतको सर्वोच्च स्थानमा विराजमान हुनेछु। 14म बादलहरूभन्दा माथि उक्लनेछु; म आफैँलाई सर्वोच्च परमेश्वर बराबर बनाउनेछु।” 15तर तँलाई चिहानसम्म, खाडलको गहिराइसम्मै होच्याइयो। 16तँलाई देख्नेहरूले तँलाई नियालेर हेर्नेछन्, तेरो दशामा तिनीहरूले विचार गर्नेछन्: “के यो त्यही मानिस हो, जसले पृथ्वीलाई हल्लायो; अनि राज्यहरूलाई थर्कमान बनायो। 17त्यो मानिस, जसले संसारलाई मरुभूमि बनायो, जसले सहरहरूलाई हरायो; र आफ्ना कैदीहरूलाई घरमा जान दिएन?” 18सबै राष्ट्रहरूका राजाहरू आ-आफ्नो चिहानमा पस्रिरहन्छन्।
19तर तँ एउटा त्यागिएको हाँगाझैँ आफ्नो चिहानमा फालिएको छस्; तँ तरवारले रोपिएकाहरूसँग, खाडलका ढुङ्गाहरूमा खसेकाहरूसँग मारिएकाहरूले ढाकिएको छस्। तँ खुट्टाले कुल्चिएर पैतालामुनि परेको लासझैँ भएको छस्। 20तँ तिनीहरूसित गाडिनेछैनस्; किनकि तैँले आफ्नो देशलाई नाश गरेको छस्; अनि तेरा मानिसहरूलाई मारेको छस्। दुष्टका सन्तानहरूको उल्लेख अब कहिल्यै गरिनेछैन। 21तिनीहरूका पुर्खाहरूका पापको कारण त्यसका छोराहरूलाई मार्ने ठाउँ तयार गर्; देशमाथि अधिकार गर्न र पृथ्वीका सहरहरू ढाक्न तिनीहरू उठ्न पाउनेछैनन्। 22सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ: “म तिनीहरूको विरुद्ध उठ्नेछु। म बेबिलोनबाट बाँचेकाहरू, त्यसका सन्तान र त्यसको नाम मेटिदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। 23“म त्यसलाई उल्लुको स्थानमा, र सिमसार धापमा परिणत गर्नेछु; म त्यसलाई विनाशको कुचोले बढार्नेछु,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
What I have planned will stand
24सेनाहरूका याहवेहले शपथ खानुभएको छ, “मैले जे योजना बनाएको छु, त्यो निश्चय पूरा हुनेछ; अनि मैले जे इच्छा गरेको छु, त्यो अटल रहनेछ। 25म आफ्नो देशमा अश्शूरलाई धुलोपिठो पार्नेछु; म आफ्ना पर्वतहरूमा त्यसलाई कुल्चनेछु। मेरा मानिसहरूबाट त्यसको जुवा निकालिनेछ; अनि तिनीहरूका काँधबाट त्यसको भारी हटाइनेछ।” 26सारा संसारका निम्ति तोकिएको योजना यही हो; सारा जातिहरूमाथि फैलाइएको हात यही हो। 27सेनाहरूका याहवेहले नै यो विचार गर्नुभएको हो, कसले उहाँलाई विफल बनाउन सक्ला र? उहाँले हात फैलाउनुभएको छ, कसले त्यसलाई फर्काउन सक्ला र?
A word against Philistia
28आहाज राजा मरेको वर्षमा यो भविष्यवाणी आयो: 29हे सबै पलिश्ती हो, तिमीहरूलाई प्रहार गर्ने लहुरो भाँचियो भनेर नरमाओ; त्यस सर्पको वंशबाट अति विषालु सर्प निस्कनेछ, र प्रहार गर्ने विषालु सर्प त्यसको फल हुनेछ। 30गरिबहरूभन्दा गरिबले खर्क पाउनेछ, र खाँचोमा परेकाहरू सुरक्षामा रहनेछन्। तर तेरो वंशलाई म अनिकालले नाश पार्नेछु, त्यसले तेरा बाँचेकाहरूलाई मार्नेछ। 31हे मूलढोका, विलाप गर्! हे सहर, चीत्कार गर्! हे सबै पलिश्ती हो, पग्लेर जाओ! उत्तर दिशाबाट धुवाँको बादल आउँछ; अनि त्यसको सेनामा बरालिने कोही छैन। 32त्यस जातिका राजदूतहरूलाई कस्तो जवाफ दिइनेछ? “याहवेहले सियोनलाई स्थापित गर्नुभएको छ; अनि कष्ट पाएका जातिले त्यसमा आश्रय पाउनेछन्।”