Genesis 37
The dreams of Joseph
1याकोब आफ्ना पिता परदेशी बनेर बसेको देश कनानमा बसे। 2याकोबका वंशको विवरण यही हो। योसेफ सत्र वर्षको जवान हुँदा तिनका दाजुहरूसँग भेडाबाख्राका बगालहरू चराउँथे। एक दिन तिनले आफ्ना पिताका पत्नीहरू बिल्हा र जिल्पाका छोराहरूको खराब व्यवहारको खबर आफ्ना बुबाकहाँ ल्याए। 3इस्राएलले योसेफलाई आफ्ना अरू छोराहरूभन्दा धेरै माया गर्थे; किनकि तिनी उनको बुढेसकालमा जन्मेका थिए; अनि तिनले उनका लागि एउटा राम्रो बुट्टेदार लबेदा बनाए। 4तिनका दाजुहरूले आफ्ना पिताले तिनलाई उनीहरूलाई भन्दा धेरै माया गरेको देखेर उनीहरूले तिनलाई घृणा गर्थे, र तिनीसँग नरम भएर बोल्दैनथे। 5योसेफले एउटा सपना देखे; अनि जब त्यो सपना तिनले आफ्ना दाजुहरूलाई सुनाए, तब उनीहरूले तिनलाई झन् धेरै घृणा गर्न थाले। 6तिनले उनीहरूलाई भने, “मैले देखेको सपना सुन्नुहोस्: 7हामी खेतमा अन्नका बिटाहरू बाँधिरहेका थियौँ; तब अकस्मात् मेरो बिटा उठेर सीधा खडा भयो; अनि तपाईंहरूका बिटाहरू मेरो बिटाका चारैतिर जम्मा भएर मेरो बिटालाई दण्डवत् गरे।” 8यो सुनेर तिनका दाजुहरूले तिनलाई भने, “के तँ हामीमाथि शासन गर्न खोज्दैछस्? के तैँले साँच्चै नै हामीमाथि शासन गर्नेछस्?” अनि त्यो सपना र तिनले भनेका कुराको कारण उनीहरूले तिनलाई झन् धेरै घृणा गरे।
9त्यसपछि तिनले अर्को सपना देखे, र तिनले त्यो आफ्ना दाजुहरूलाई सुनाए। तिनले भने, “सुन्नुहोस्, मैले अर्को सपना देखेको छु; अनि यस पटक सूर्य, चन्द्र र एघार ताराहरूले मलाई दण्डवत् गरिरहेका थिए।” 10जब तिनले आफ्ना दाजुहरूलाई बताएझैँ त्यो सपना आफ्ना पितालाई पनि बताए; तब तिनका पिताले तिनलाई हप्काउँदै भने, “तैँले देखेको यो सपना कस्तो हो? के तेरी आमा र मैले अनि तेरा दाजुहरूले साँच्चै आएर तेरो सामु भुइँसम्मै निहुरेर तँलाई दण्डवत् गर्नुपर्ने हो?” 11तिनका दाजुहरू तिनीप्रति डाही भए; तर तिनका पिताले चाहिँ यस कुरालाई मनमै राखे।
Joseph sold by his brothers
12अब तिनका दाजुहरू आफ्ना पिताका बगाल चराउन शेकेमको नजिक गएका थिए। 13अनि इस्राएलले योसेफलाई भने, “तँलाई थाहै छ कि तेरा दाजुहरू शेकेमको नजिक बगालहरू चराउँदैछन्। आइज, म तँलाई उनीहरूकहाँ पठाउँछु।” तिनले भने, “हवस्, म जान्छु।” 14यसकारण इस्राएलले तिनलाई भने, “गएर हेर्, तेरा दाजुहरू र बगालहरू ठिक छन् कि छैनन्, अनि मकहाँ खबर लिएर आइज।” तब उनले तिनलाई हेब्रोनको बेँसीबाट पठाइदिए। जब योसेफ शेकेममा आइपुगे, 15एक जना मानिसले तिनलाई खेततिर यताउति घुमिरहेका देखे, र सोधे, “तिमी के खोज्दैछौ?” 16तिनले जवाफ दिए, “म मेरा दाजुहरूलाई खोज्दैछु। उनीहरूले बगाल कहाँ चराउँदैछन्, के तपाईं मलाई भन्न सक्नुहुन्छ?” 17ती मानिसले जवाफ दिए, “उनीहरू यहाँबाट गइसके। उनीहरूले हामी ‘दोतानमा जाऊँ’ भन्दै गरेका मैले सुनेको थिएँ।” यसकारण योसेफ आफ्ना दाजुहरूलाई खोज्दै गए, र उनीहरूलाई दोतानको नजिक भेट्टाए। 18तर उनीहरूले तिनलाई टाढैबाट देखे, र तिनी उनीहरूकहाँ आइपुग्नुअगि नै तिनको उनीहरूले हत्या गर्ने षड्यन्त्र रचे। 19उनीहरूले आपसमा भने, “त्यो स्वप्नदर्शी आउँदैछ!”
20“अब आओ, हामी त्यसलाई मारेर एउटा खाडलमा फ्याँकिदिऔँ; अनि एउटा डरलाग्दो जनावरले त्यसलाई खाएछ भनेर भनिदिऔँ। तब त्यसका सपनाहरू के हुँदारहेछन्, हेरौँला।” 21जब रूबेनले यो कुरा सुने, तब उनले तिनलाई उनीहरूका हातबाट छुटाउने कोसिस गरे। उनले भने, “हामी त्यसको ज्यानचाहिँ नलिऔँ। 22रक्तपात नगरौँ। बरु त्यसलाई यहाँ मरुभूमिको यस खाडलमा फ्याँकिदिऔँ; तर त्यसमाथि हातचाहिँ नउठाऔँ।” रूबेनले तिनलाई तिनीहरूका हातबाट छुटाएर तिनलाई आफ्ना पिताकहाँ फर्काएर लगिदिनका लागि यसो भनेका थिए। 23यसकारण जब योसेफ आफ्ना दाजुहरूकहाँ आइपुगे, तब तिनले लगाएका राम्रा बुट्टेदार भएको लामो लबेदा उनीहरूले फुकालेर खोसे। 24अनि उनीहरूले तिनलाई लगेर एउटा खाडलमा फ्याँकिदिए। त्यो खाडल रित्तो थियो; त्यसभित्र पानी थिएन। 25जब उनीहरू खान बसे, तब उनीहरूले आँखा उठाएर हेरे; अनि गिलादबाट इश्माएलीहरूका एक दल आइरहेका देखे। तिनीहरूले ऊँटहरूमाथि मसलाहरू, सुगन्धित लेप र मूर्र लादेर इजिप्टमा लाँदैथिए। 26यहूदाले आफ्ना दाजुभाइहरूलाई भने, “आफ्ना भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा छ र?
27बरु हामी यसलाई यी इश्माएलीहरूलाई बेचिदिऔँ, र यसमाथि हातचाहिँ नहालौँ; आखिर जे भए तापनि यो हाम्रै भाइ, हाम्रै मासु र रगत हो।” अनि उनका दाजुभाइहरू सहमत भए। 28यसकारण जब ती मिद्यानी व्यापारीहरू नजिक आइपुगे; तिनका दाजुहरूले योसेफलाई खाडलबाट तानेर माथि निकाले, र तिनलाई चाँदीका बीस शेकेलमा इश्माएलीहरूलाई बेचिदिए; जसले तिनलाई इजिप्टमा लगे। 29जब रूबेन खाडलमा फर्केर आए, तब योसेफलाई त्यहाँ नदेख्दा उनले आफ्ना वस्त्रहरू च्याते। 30उनी आफ्ना भाइहरूकहाँ गएर भने, “त्यो केटो त त्यहाँ छैन! अब म के गरूँ?”
Jacob mourns for Joseph
31त्यसपछि उनीहरूले योसेफको लबेदा लिए, र एउटा बाख्रा मारेर त्यो लबेदालाई त्यस रगतमा चोपे। 32अनि त्यो राम्रो बुट्टेदार भएको लबेदा फर्काएर उनीहरूले आफ्ना पिताकहाँ लगेर भने, “हेर्नुहोस् त, हामीले यो लबेदा भेट्टाएका छौँ; के यो तपाईंको छोराको हो र?” 33तिनले त्यो चिनेर भने, “यो त मेरै छोराको लबेदा हो! कुनै डरलाग्दो जङ्गली पशुले योसेफलाई खाएछ क्यारे। पक्कै पनि त्यसलाई खाएर च्यात्तचुत्त पारेछ!” 34तब याकोबले आफ्ना वस्त्रहरू च्याते, भाङ्ग्रा ओढे र आफ्नो छोराको लागि धेरै दिनसम्म शोक गरिरहे। 35तिनका सबै छोराछोरीहरूले तिनलाई सान्त्वना दिन आए; तर तिनले शान्त हुन मानेनन्। तिनले भने, “होइनँ, म मेरो छोराकहाँ चिहानमा नगएसम्म शोक गरिरहनेछु।” यसरी तिनका पिताले तिनका निम्ति बिलौना गरिरहे। 36यही बीचमा ती मिद्यानीहरूले योसेफलाई इजिप्टमा फारोका अधिकारीहरूमध्ये एक जना अङ्गरक्षकका सेनापति पोतिफरलाई बेचिदिए।