Ezra 4
The enemies offer to help
1जब यहूदा र बेन्यामीनका शत्रुहरूले निर्वासनबाट फर्किआएका यहूदीहरूले याहवेह इस्राएलका परमेश्वरको भवन निर्माण गर्दैछन् भन्ने कुरा सुने, 2तब तिनीहरू यरुबाबेल र परिवारका मुखियाहरूकहाँ आएर भने, “हामीलाई पनि निर्माणको काममा सहायता गर्न दिनुहोस्; किनकि हामी पनि तपाईंहरूजस्तै तपाईंहरूका परमेश्वरको खोजी गर्दछौँ। अनि हामीलाई यहाँ ल्याएका अश्शूरका राजा एसरहदोनको समयदेखि नै उहाँलाई हामीले बलिदान चढाइरहेका छौँ।” 3तर यरुबाबेल, येशूआ र इस्राएलका घरानाका मुखियाहरूले जवाफ दिए, “हाम्रो परमेश्वरको मन्दिर बनाउनमा तिमीहरूको कुनै अधिकार छैन। परसीयाका राजा कोरेसले हामीलाई आज्ञा गरेअनुसार याहवेह इस्राएलका परमेश्वरका निम्ति यो मन्दिर बनाउने काम हामी आफैँ पूरा गर्नेछौँ।” 4त्यसपछि तिनीहरूका वरिपरिका शत्रुहरूले यहूदाका मानिसहरूलाई निराश बनाएर निर्माण गर्ने काममा डर पैदा गर्न थाले। 5परसीयाका राजा कोरेसको सारा शासनकाल र परसीयाका अर्को राजा दाराको शासनकालभरि नै ती मानिसहरूले तिनीहरूका योजनालाई असफल तुल्याउन सल्लाहकारहरूलाई घूस दिए।
The letter of accusation
6अहासूरसको शासनकालको सुरुमा तिनीहरूले यहूदा र यरूशलेमका मानिसहरूका विरुद्धमा एउटा अभियोगपत्र लेखे। 7अनि परसीयाका राजा अर्तसास्तको पालामा बिश्लाम, मित्रेदात, ताबेल र तिनका अरू मित्रहरूले अर्तसास्तलाई एउटा पत्र लेखे। त्यो पत्र अरामी लिपिमा र अरामी भाषामै लेखिएको थियो। 8सेनापति रेहूम र सचिव शिम्शैले यरूशलेमको विरुद्धमा राजा अर्तसास्तलाई यस प्रकारको एउटा पत्र लेखे: 9सेनापति रेहूम, सचिव शिम्शै र तिनीहरूका सहयोगी मित्रहरू—त्रीपोलीस, फारस, उरुक र बेबिलोनी न्यायधीशहरू, हाकिमहरू, र शूशनका एलामीहरू, 10साथै अरू मानिसहरू, जसलाई महान् र आदरणीय ओस्नप्परले देश निकाला गरेर सामरिया र यूफ्रेटिसपारि बसोबास गराएका थिए। 11(तिनीहरूले उहाँलाई पठाएको पत्रको प्रतिलिपि यही थियो।) राजा अर्तसास्तको सेवामा, यूफ्रेटिस पारिका हजुरका सेवकहरूबाट: 12महाराजालाई यो कुरा थाहा होस्, ती यहूदीहरू, जो हजुरका राज्यबाट यहाँ हामीकहाँ आएर यरूशलेममा गएका छन्; अनि तिनीहरूले त्यो बागी र दुष्ट सहरलाई पुनर्निर्माण गर्दैछन्। तिनीहरूले पर्खालहरू पुनर्स्थापन गर्दैछन् र जगहरूका मर्मत गरिरहेका छन्। 13महाराजालाई अझ थाहा होस्, यदि यो सहर बनियो र यसका पर्खालहरू पुनर्स्थापित गरियो भने तिनीहरूले आयकर, सलामी र अन्य महशुलहरू तिर्नेछैनन्। अनि राजकीय आम्दानीमा हानि हुनेछ।
14किनकि हामी महाराजाप्रति ऋणी भएका हुनाले, र राजाको अपमान हेर्न हाम्रा निम्ति उचित नभएको कारण हामीले यो खबर महाराजालाई जानकारी गराउन पठाइरहेका छौँ: 15हजुरका पितापुर्खाहरूका इतिहासमा यो सहरको बारेमा खोजी गरियोस्। यरूशलेम एउटा बागी सहर हो। प्रान्तहरू र राजाहरूका निम्ति कष्टदायक र प्राचीन समयदेखि नै यो एउटा राजद्रोहीको ठाउँ हो भनी हजुरले ती इतिहासका पुस्तकहरूबाट थाहा पाउनुहुनेछ। त्यही कारणले गर्दा यो सहर नष्ट पारिएको थियो। 16हामी महाराजालाई यो जानकारी गराउँछौँ; यो सहर निर्माण भएर यसका पर्खालहरू फेरि पुनर्निर्माण गरिए भने हजुरका निम्ति यूफ्रेटिसपारि केही अधिकार रहनेछैन।
The work is stopped
17राजाले यस्तो जवाफ पठाए: सेनापति रेहूम, सचिव शिम्शै, सामरिया र तिमीहरूका यूफ्रेटिस पारिका मित्रहरूलाई: अभिवादन! 18तिमीहरूले हामीलाई पठाएको पत्र मेरो उपस्थितिमा पढियो र अनुवाद गरियो। 19मैले आदेश दिएअनुसार खोजी गरियो र यरुशलेमले राजाहरूका विरुद्धमा विद्रोह गरेको र राजद्रोहीको ठाउँ भएको एउटा लामो इतिहास पाइयो। 20यरूशलेममा यूफ्रेटिस पारिका सम्पूर्ण इलाकाहरूमा शासन गर्ने शक्तिशाली राजाहरू रहेछन्; अनि उनीहरूलाई आयकर, सलामी र अन्य महशुलहरू तिरिएको रहेछ। 21अब यी मानिसहरूका काम रोक्न एउटा आदेश जारी गर, र मैले हुकुम नदिएसम्म यो सहर फेरि पुनर्निर्माण नगरियोस्। 22होसियार, यस बारेमा लापर्बाही नहोस्! राजकीय हितमा हानि पुर्याउने खतरा किन बढोस्?
23यसरी राजा अर्तसास्तको पत्रको प्रतिलिपि रेहूम, सचिव शिम्शै र तिनीहरूका मित्रहरूलाई पढेर सुनाउने बित्तिकै तिनीहरू तुरुन्तै यरूशलेमका यहूदीहरूकहाँ गए; अनि तिनीहरूलाई जबरजस्ती काम रोक्न लगाए। 24यसरी यरूशलेममा परमेश्वरको भवनको काम परसीयाका राजा दाराको शासनकालको दोस्रो वर्षसम्म रोकियो।