Exodus 35
The sabbath rest
1मोशाले इस्राएलीहरूका सारा समुदायलाई भेला गरेर भने, “याहवेहले तिमीहरूलाई यी कुराहरू पालना गर्न आज्ञा दिनुभएको छ: 2छ दिनसम्म काम गर्नू, तर सातौँ दिनचाहिँ तिमीहरूका लागि पवित्र शब्बाथ दिन, याहवेहका निम्ति विश्रामको दिन हुनेछ। जसले यस दिनमा काम गर्दछ, त्यो मारिनेछ। 3शब्बाथ दिनमा तिमीहरू कसैको घरमा आगोसमेत नसल्काउनू।”
Offerings brought willingly
4मोशाले इस्राएलका सारा समुदायलाई भने, “याहवेहले गर्नुभएको आज्ञा यही हो: 5याहवेहका निम्ति भेटी ल्याओ। याहवेहका निम्ति भेटी ल्याउन चाहने हरेकले यी कुराहरू ल्याउनू: “सुन, चाँदी र काँसो; 6निलो, बैजनी र रातो धागो र मसिनो सुती कपडा; बाख्राको भुत्ला; 7भेडाका रातो रङ्गाएको छालाहरू र सीलका छालाहरू; बबुलका काठ; 8बत्तीको निम्ति जैतुनको तेल; अभिषेक गर्नका निम्ति तेल र सुगन्धित धूपका निम्ति मसलाहरू; 9अनि एपोद र छाती-पाता जड्नका निम्ति गोमेद र अरू रत्नहरू।
Every skilled worker
10“तिमीहरूमध्ये सबै निपूर्ण कारिगरहरू आएर याहवेहले आज्ञा गर्नुभएअनुसार सम्पूर्ण कुराहरू बनाउनुपर्छ: 11“समागम पाल, पालको छत, अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खाँबाहरू र आधारहरू; 12डण्डाहरूसहित करारको सन्दुक र पाप समाधान-स्थान; 13टेबुल, त्यसका डण्डाहरूसहित र त्यसका सबै सामानहरू, र उपस्थितिको रोटी; 14सरसामानहरूसहित बत्तीको निम्ति सामदान, प्रकाशको निम्ति जैतुनको तेल; 15धूपको निम्ति वेदी र त्यसका डण्डाहरू, अभिषेक गर्ने तेल र सुगन्धित धूप; समागम पालको प्रवेशद्वारमा लगाइने पर्दा; 16होमबलिको निम्ति वेदी, काँसोको जाली, त्यसका डण्डाहरू र सबै सामानहरू; काँसोका बाटा त्यसका खुट्टासहित; 17आँगनका पर्दाहरू त्यसका खाँबाहरू र आधारहरूसमेत, र आँगनको मूलढोकाको निम्ति पर्दा;
18समागम पाल र आँगनका निम्ति किलाहरू र तिनीहरूका डोरीहरू; 19पवित्रस्थानमा सेवाका निम्ति बुनिएका पोशाकहरू—पुजारी हारूनका निम्ति पवित्र पोशाकहरू, र तिनका छोराहरूका निम्ति पोशाकहरू जब तिनीहरू पुजारी भएर सेवा गर्छन्।”
The people give with joy
20त्यसपछि इस्राएलका सारा समुदाय मोशाको सामुबाट बिदा भए। 21जसका हृदय उत्साहित भए र दिने इच्छा गरे; तिनीहरूले समागम पाल, त्यसको सेवाको सबै काम र पवित्र पोशाकहरूका निम्ति याहवेहको सामु भेटी ल्याए। 22इच्छुक हुने हरेक पुरुष र स्त्रीले सबै प्रकारका सुनका गहना ल्याए—पिन, कुण्डल, औँठी र सिङ्गारका सामानहरू। तिनीहरू हरेकले आफ्ना सुन विशेष भेटीको रूपमा उचालिनको निम्ति याहवेहलाई चढाए। 23जससँग निलो, बैजनी, रातो धागो, मसिनो सुती कपडा, बाख्राका भुत्ला, भेडाका रातो रङ्गाएका छाला वा सीलका छालाहरू थिए, ती सबै ल्याए। 24तिनीहरू, जसले चाँदी वा काँसो दिन सक्थे, तिनीहरूले ती भेटीको रूपमा याहवेहको सामु ल्याए; अनि जससँग सेवाको कामका निम्ति बबुल काठ थियो, त्यो तिनीहरूले ल्याए। 25सिपले योग्य स्त्रीहरूले आफ्नो हातले तयार पारेका निलो, बैजनी, रातो धागो र मसिनो सुतीका वस्त्र ल्याए। 26अनि सिपले योग्य र इच्छुक स्त्रीहरूले बाख्राका भुत्ला काते। 27अगुवाहरूले एपोदमा र छाती-पातामा जड्नका लागि गोमेद पत्थरहरू र अरू रत्नहरू ल्याए।
28तिनीहरूले बत्तीको निम्ति जैतुनको तेल, अभिषेक गर्ने तेल र सुगन्धित धूपका निम्ति मसला ल्याए। 29इस्राएलका सबै पुरुष र स्त्रीहरू, जसले याहवेहको निम्ति भेटी चढाउने इच्छा राखे; याहवेहले मोशाद्वारा आज्ञा गर्नुभएको सबै कामका निम्ति तिनीहरूले याहवेहकहाँ आफ्नो स्वेच्छा-भेटी ल्याए।
The craftsmen are named
30तब मोशाले इस्राएलीहरूलाई भने, “हेर, याहवेहले यहूदाका कुल, हूरका नाति, ऊरीका छोरा बजलेललाई चुन्नुभएको छ; 31अनि उहाँले तिनलाई आफ्नो आत्मा, बुद्धि, समझ, ज्ञान र कारिगरीका सबै दक्षताले भर्नुभएको छ। 32उहाँले तिनलाई सुन, चाँदी, काँसोमा कलापूर्ण आकार कोर्ने, 33कलापूर्ण तरिकाले हरेक प्रकारका पत्थर काटेर जड्ने काम, र काठमा खोप्ने सिप दिनुभएको छ। 34याहवेहले तिनलाई र दानका कुलका अहीसामाकका छोरा, ओहोलीआबलाई अरूलाई सिकाउन सक्ने क्षमता दिनुभएको छ। 35उहाँले तिनीहरूलाई हरेक प्रकारका शिल्पकारी, चित्र बनाउने काम, निलो, बैजनी, रातो धागो र मसिनो सुती कपडामा बुट्टा भर्ने अनि बुन्ने कारिगरले जानेका सबै काम गर्ने बुद्धिले भरिपूर्ण पार्नुभएको छ।