2 Corinthians 11

Paul and the false apostles

1मेरो मूर्खतालाई तिमीहरूले सहिदिए कति असल हुनेथियो! हो, कृपया सहिदेओ। 2म तिमीहरूप्रति परमेश्‍वरको जोशले जोशिलो बनेको छु; त्यसैले म प्रतिज्ञा गर्दछु, कि एक जना दुलहा अर्थात् ख्रीष्‍टसित म आफैँले तिमीहरूलाई मगनी गराइदिएको छु, ताकि तिमीहरूलाई एउटी पवित्र दुलहीका रूपमा उहाँलाई प्रस्तुत गर्न सकूँ। 3तर हव्वालाई सर्पको धूर्तताले बहकाएझैँ तिमीहरूको मन पनि ख्रीष्‍टप्रतिको आफ्नो निष्कपट र शुद्ध भक्तिबाट बहकिएला कि भन्‍ने मलाई डर लाग्छ। 4किनकि यदि कोही आएर तिमीहरूलाई हामीले प्रचार गरेको येशूबाहेक अर्को येशूको प्रचार गर्छ, अथवा तिमीहरूले पाएका परमेश्‍वरको आत्माबाहेक अर्को आत्मा तिमीहरूले ग्रहण गर्‍यौ, अथवा तिमीहरूले ग्रहण गरेको भन्दा अर्कै सुसमाचार ग्रहण गर्‍यौ भने तिमीहरूले सजिलै उसको कुरा स्वीकार गर्दारहेछौ। 5तर ती “महा प्रेरितहरू” भन्दा म कमको छु भनेर मान्दिनँ। 6म तालिम प्राप्‍त वक्ताजस्तो नहुँला, तर मसित ज्ञान छ। यो हामीले तिमीहरूलाई हरेक प्रकारले स्पष्‍ट गरिसकेका छौँ। 7तिमीहरूलाई उच्‍च पारूँ भनेर परमेश्‍वरको सुसमाचार विनामूल्यमा प्रचार गर्न आफूलाई होच्याएर के मैले गल्ती गरेँ?

8तिमीहरूको सेवा गरूँ भनेर मैले अरू मण्डलीबाट आर्थिक सहायता लिएर एक प्रकारले तिनीहरूलाई लुटेँ। 9अनि जब मलाई तिमीहरूसित हुँदा खाँचो परेको थियो, तब म कसैको बोझ बनिनँ; किनकि म्यासिडोनियाबाट आएका भाइहरूले मेरो खाँचो पूरा गरिदिए। म कुनै प्रकारले तिमीहरूको भार नबनूँ भनेर आफैँलाई अलग राखेँ, र पछि पनि राख्नेछु। 10ममा ख्रीष्‍टको सत्यता भएझैँ अखैया प्रान्तमा कसैले पनि मेरो गर्वलाई रोक्न सक्दैन। 11किन? के म तिमीहरूलाई प्रेम गर्दिनँ भनेर हो त? म प्रेम गर्छु भनी परमेश्‍वर जान्‍नुहुन्छ!

12तिनीहरूले गर्व गरेका कुराहरूमा हामीसित बराबर हुने मौका खोज्नेहरूका दाबीलाई रद्द गर्नलाई मैले जे गरिरहेको छु, त्यो म गरिरहनेछु। 13किनकि यी मानिसहरूचाहिँ ख्रीष्‍टका प्रेरितको भेषमा आउने झूटा प्रेरितहरू, छलका काम गर्नेहरू हुन्। 14तर यो केही अचम्म होइन; किनकि शैतानले पनि ज्योतिको स्वर्गदूतको भेष लिएर आउँछ। 15त्यसका सेवकहरूले पनि धार्मिकताका सेवकहरूको भेष धारण गरे भने यो कुनै अचम्मको कुरा होइन। तिनीहरूको अन्त्य तिनीहरूका कामहरूअनुसार हुनेछ।

What Paul suffered

16म फेरि भन्दछु: कसैले पनि मलाई मूर्ख नसम्झोस्। तर यदि तिमीहरू त्यस्तो सम्झन्छौ भने मूर्खलाई झैँ मलाई ग्रहण गर, ताकि म थोरै भए तापनि गर्व गर्न सकूँ। 17यस प्रकारको गर्व प्रभुको इच्छाअनुसार हुँदैन, तर म एउटा मूर्खले झैँ बोलिरहेको छु। 18किनकि धेरैले संसारले जस्तै गर्व गरिरहेका हुनाले, म पनि त्यसरी नै गर्व गर्नेछु। 19तिमीहरू धेरै बुद्धिमानी भएका हुनाले खुशीसाथ मूर्खहरूलाई सहन्छौ!

20वास्तवमा तिमीहरूलाई सेवकहरू तुल्याउनेहरूलाई, अथवा तिमीहरूलाई शोषण गर्नेहरूलाई, अथवा तिमीहरूबाट फाइदा उठाउनेहरूलाई, अथवा तिमीहरूलाई घचेट्ने वा अनुहारमा थप्पड लाउनेहरूलाई पनि सहन्छौ। 21म लज्जित भएर यो स्वीकार गर्छु, कि यस्तो कामका लागि हामी अति नै कमजोर थियौँ। म मूर्खले झैँ बोलिरहेछु, कसैले जे कुरामा गर्व गर्छ, म पनि त्यही कुरामा गर्व गर्छु। 22के तिनीहरू हिब्रूहरू हुन्? म पनि हुँ! के तिनीहरू इस्राएलीहरू हुन्? म पनि हुँ! के तिनीहरू अब्राहामका वंश हुन्? म पनि हुँ!

23के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन्? म त झन् बढी हुँ (म पागलझैँ बोलिरहेको छु)। मैले अझ कठोर परिश्रम गरेको छु, म झन् घरी-घरी कैदमा परेको छु, झन् बढी कोर्राले पिटिएको छु, र बारम्बार मृत्युको मुखमा परेको छु। 24पाँचपल्ट मैले यहूदीहरूबाट एक कम चालीस कोर्रा खाएको छु। 25तीनपल्ट म लहुरोले पिटिएको छु; एकपल्ट ढुङ्गाले हानिएको छु, तीनपल्ट जहाजको दुर्घटनामा परेको छु; मैले एक रात एक दिन समुद्रमा नै बिताएको छु। 26म लगातार यात्रामा अगि बढिरहेको छु। म नदीहरूको जोखिममा परेँ, डाँकुहरूका जोखिममा, आफ्नै देशवासीहरूका जोखिममा, गैरयहूदीहरूका जोखिममा, सहरको जोखिममा, बिरानो भूमिको जोखिममा, समुद्रको जोखिममा र झूटा भाइहरूको जोखिममा परेको छु। 27मैले कठोर परिश्रम गरेको छु; म रातभरि नसुती बसेको छु; मैले भोक र तिर्खा जानेको छु, र धेरैपल्ट भोकै बसेको छु; मैले चिसो भोगेको छु र लुगाफाटाको अभावमा पनि बसेको छु। 28यीबाहेक दिनहुँ सबै मण्डलीहरूको चिन्ताले थिचिएको हुन्छु। 29को कमजोर छैन, र म कमजोर महसुस नगरूँ? कोही पापमा पर्दा मचाहिँ व्याकुल हुँदिनँ र?

30यदि मैले गर्व गर्नुपर्छ भने म मेरा कमजोरी देखाउने कुराहरूमा गर्व गर्नेछु। 31सदासर्वदा प्रशंसा पाइरहनुपर्ने प्रभु येशूका परमेश्‍वर पिताले जान्‍नुहुन्छ, मैले झूट बोलिरहेको छैनँ। 32दमस्कसमा राजा अरितसका अधीनका हाकिमले मलाई पक्रनु भनेर दमस्कस सहरमा पहरा राखेका थिए। 33तर मलाई एउटा टोकरीमा राखेर पर्खालको झ्यालबाट तल झारिदिए र तिनको हातबाट उम्किएँ।

Copied!
Aa