1 Chronicles 11

David is made king

1सारा इस्राएलीहरू हेब्रोनमा दावीदकहाँ आएर भने, “हामी तपाईंकै आफ्नै हाडनाता हौँ। 2विगतमा शाऊल राजा हुँदा पनि, इस्राएललाई सैनिक लडाइँमा डोर्‍याउने तपाईं नै हुनुहुन्थ्यो। याहवेह तपाईंका परमेश्‍वरले तपाईंलाई भन्‍नुभएको थियो, ‘तँ मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्, र तँ तिनीहरूका शासक हुनेछस्।’ ” 3जब इस्राएलका सबै प्रधानहरू हेब्रोनमा राजा दावीदकहाँ आए, तब दावीदले हेब्रोनमा याहवेहको सामु तिनीहरूसित एउटा करार बाँधे। याहवेहले शमूएलद्वारा प्रतिज्ञा गर्नुभएजस्तै तिनीहरूले दावीदलाई इस्राएलमाथि राजा अभिषेक गरे।

David takes Jerusalem

4दावीद र सारा इस्राएलीहरू यरूशलेम (अर्थात् यबूस) तर्फ गए। त्यहाँ बस्‍ने यबूसीहरूले 5दावीदलाई भने, “तपाईं यहाँ कहिल्यै आउनुहुनेछैन।” तरै पनि दावीदले सियोनको किल्‍लालाई कब्जा गरे, अर्थात् जुन दावीदको सहर हो। 6दावीदले भनेका थिए, “जसले यबूसीहरूमाथि पहिले आक्रमण गर्छ, त्यो सेनापति हुनेछ।” तब सरूयाहका छोरा योआबले पहिले आक्रमण गरे, र तिनी सेनापति भए। 7दावीदले त्यस किल्‍लामा बसोबास गरे, र त्यसलाई दावीदको सहर भनियो। 8तिनले कौसीदेखि लिएर चारैतिरका पर्खालहरूसम्म वरिपरि सहरको निर्माण गरे; अनि योआबले चाहिँ बाँकी रहेको सहर पुनर्स्थापित गरे। 9दावीद झन्-झन् शक्तिशाली बन्दैगए; किनकि सेनाहरूका याहवेह तिनीसँग हुनुहुन्थ्यो।

The mighty men of David

10दावीदका वीर योद्धाहरूका अगुवाहरू यिनै थिए जसले सारा इस्राएलसँग मिलेर याहवेहले प्रतिज्ञा गर्नुभएझैँ, सम्पूर्ण देशमा दावीदको राज्य बलियो बनाउन दरिलो सहारा दिए। 11दावीदका वीर योद्धाहरूको सूची यही हो: हक्मोनी यशोबाम अधिकृतहरूका प्रमुख थिए; जसले एकै पटकमा तीन सय मानिसहरूलाई आफ्नो भालाले प्रहार गरेर मारे। 12यशोबामपछि अहोही दोदोका छोरा एलाजार, जो तीन जना वीरहरूमध्येका एक जना थिए। 13पलिश्तीहरू पास-दम्मीममा युद्ध गर्नका निम्ति भेला हुँदा एलाजार दावीदसँग थिए। त्यो ठाउँ जहाँ जौले भरिएको खेत थियो, र इस्राएली सेनाहरू पलिश्तीहरूदेखि भागेका थिए। 14तर इस्राएली सेनाहरू जौको खेतको बीचमा खडा भए। तिनीहरूले त्यस खेतलाई सुरक्षा दिइराखे; र पलिश्तीहरूलाई मारे। अनि याहवेहले सेनाहरूलाई ठूलो विजय दिनुभयो। 15तीसमध्ये तीन जना मुख्य वीरहरू अदुल्‍लामको गुफामा भएको चट्टानमा दावीदकहाँ आए। त्यही समयमा पलिश्तीहरूको एक दलचाहिँ रपाईमको बेँसीमा छाउनी हालेर बसेका थिए। 16त्यस बेला दावीद गढीमा थिए। अनि पलिश्ती सेनाहरूचाहिँ बेथलेहेममा थिए। 17दावीदले पानीको इच्छा गरेर भने, “अहो, कसैले बेथलेहेमको मूलढोकाको छेउको इनारबाट मलाई पानी पिउनलाई ल्याइदिए हुनेथियो!”

18यसकारण ती तीन जना पलिश्तीहरूको छाउनीबाट छिरेर गए। अनि बेथलेहेमको मूलढोकाको छेउको कुवाबाट पानी लिएर दावीदकहाँ फर्किआए। तर तिनले त्यो पानी पिउन इन्कार गरे। तिनले पिउनको सट्टा पानीलाई याहवेहको सामु खन्याइदिए। 19तिनले भने, “परमेश्‍वरले मलाई यसो गर्न नदेऊन्! के तिनीहरूको जीवन जोखिममा पारेर जाने यी मानिसहरूको रगत मैले पिऊँ?” तिनीहरूले आफ्नो जीवनलाई जोखिममा पारेर पानी ल्याएको कारणले दावीदले त्यो पानी पिएनन्। ती तीन जना वीर मानिसहरूका वीरताका कामहरू यस्ता थिए। 20ती तीन जनाका अगुवाचाहिँ योआबका भाइ अबीशै थिए। तिनले तीन सय मानिसहरूको विरुद्धमा आफ्नो भाला उठाए र मारे। यसैले तिनी पनि ती तीन जना वीरहरूझैँ प्रसिद्ध भए। 21अबीशैले ती तीन जनाले भन्दा दोबर सम्मान पाए। यद्यपि तिनी ती तीन जनामध्येका थिएनन्, तापनि तिनी उनीहरूका सेनापति भए। 22कब्सेलबाट यहोयादाका छोरा बनायाह एक जना वीर योद्धा थिए, जसले धेरै वीरताका कामहरू गरेका थिए। तिनले मोआबका दुई जना वीर योद्धाहरूलाई मारे। हिउँ परेको दिन एउटा खाडलमा तल ओर्लेर तिनले एउटा सिंहलाई मारे। 23अनि तिनले पाँच क्यूबिट अग्लो एक जना इजिप्टियनलाई मारे। त्यस इजिप्‍टियनको हातमा तान बुन्‍ने डण्डाजस्तो एउटा भाला थियो, तापनि त्यसको विरुद्धमा बनायाहले एउटा लहुरो लिएर गए। तिनले त्यस इजिप्‍टियनको हातबाट भाला खोसेर त्यसलाई त्यसकै भालाले मारे। 24यहोयादाका छोरा बनायाहका वीरताका कामहरू यस्तै थिए; तिनी पनि ती तीन वीर मानिसहरूजस्तै प्रसिद्ध थिए। 25तिनको पनि तीस जनाभन्दा बढी सम्मान भयो, तर ती तीन जना वीर मानिसहरूसँग गनिएनन्। दावीदले तिनलाई आफ्ना अङ्गरक्षकहरूमाथि सेनापति नियुक्त गरे।

26ती वीर मानिसहरू यी हुन्: योआबका भाइ असाहेल, बेथलेहेमबासी दोदोका छोरा एल्हानान, 27हरोरी शम्मोत, पेलोनी हेलेस, 28तकोईबाट इक्‍केशका छोरा ईरा, अनातोतका अबीएजेर, 29हूशातीका सिब्बकै, अहोही ईलै, 30नतोपाती महरै, नतोपाती बानाहका छोरा हेलेद, 31बेन्यामीनको गेबाबाट रीबैका छोरा इत्तै, पिरातोनी बनायाह, 32गाशका खोल्साहरूबाट हूरै, अर्बातीबाट अबीएल, 33बहूरीमी अज्मावेत, शाल्बोनी एल्याहबा,

34गीजोनी हाशेमका छोराहरू, हरारी शागेका छोरा जोनाथन, 35हरारी साकारका छोरा अहीआम, ऊरका छोरा एलीपाल, 36मकेराती हेपेर, पेलोनी अहीयाह, 37कर्मेलबाट हेस्रो, एज्बैका छोरा नारै, 38नातानका भाइ योएल, हग्रीका छोरा मिभार, 39अम्मोनबाट सेलेक, बेरोती नहरै, जसले सरूयाहका छोरा योआबका हतियार बोक्ने गर्थे, 40यित्री ईरा, यित्रीबाट गारेब, 41हित्ती उरियाह, अहलैका छोरा जाबाद,

42रूबेनी शीजाका छोरा अदीना, जो रूबेनीहरू र तिनीसँग भएका तीस जना मानिसहरूका प्रमुख थिए; 43माकाहका छोरा हानान, मित्नी योशापात, 44अश्तेराती उज्जीया, अरोएरबाट होतामका छोराहरू शामा र यीएल, 45शिम्रीका छोरा यदीएल, तिनका भाइ तिजीबाट योहा, 46महाबी एलीएल, एल्नामका छोराहरू, यरीबै र योशब्याह, मोआबी यित्मा, 47एलीएल, ओबेद र मेजोबाई यासीएल।

Copied!
Aa