열왕기상 9
여호와께서 다시 나타나시다
1जब राजा सोलोमनले याहवेहको मन्दिर र राजमहल बनाइसके, तब तिनले इच्छा गरेका सबै कुराहरू हासिल गरे। 2अनि याहवेह तिनीकहाँ गिबोनमा देखापर्नुभएझैँ दोस्रोपल्ट तिनीकहाँ देखा पर्नुभयो। 3याहवेहले तिनलाई भन्नुभयो: “तैँले मेरो सामु चढाएको प्रार्थना र अर्जबिन्ती मैले सुनेको छु। तैँले बनाएको यस मन्दिरलाई मैले त्यहाँ सदाका निम्ति आफ्नो नाम राखेर पवित्र गरेको छु। मेरो नजर र मेरो हृदय सधैँभरि त्यहाँ रहनेछ। 4“तेरो विषयमा चाहिँ, तँ तेरा पिता दावीदझैँ, हृदयको इमानदारी र सोझोपनमा विश्वासयोग्य भएर मेरो सामु हिँडिस्। अनि मैले आज्ञा गरेका सबै आदेश र व्यवस्थाहरू पालन गरिस् भने, 5‘इस्राएलको सिंहासनमाथि बस्नलाई तँलाई कुनै मानिसको अभाव हुनेछैन’ भनेर मैले तेरा पिता दावीदलाई प्रतिज्ञा गरेझैँ, म इस्राएलमाथि तेरो सिंहासन सदाका लागि स्थापित गर्नेछु। 6“तर तँ अथवा तेरा छोराहरू मदेखि तर्केर गए, र मैले तँलाई दिएका आज्ञाहरू र आदेशहरू मानेनन् भने, र अन्य देवी-देवताहरूको सेवा गर्दै तिनीहरूलाई पूजा गरे भने, 7मैले इस्राएललाई दिएको यस देशबाट म तिनीहरूलाई हटाउनेछु। अनि मैले आफ्नो नामको निम्ति पवित्र गरेको यस मन्दिरलाई म इन्कार गर्नेछु। तब इस्राएल सबै जातिहरूका बीचमा एउटा निन्दा र हाँसोको पात्र बन्नेछ। 8अहिले यो मन्दिर भव्य भए तापनि यसको छेउबाट जाने सबैले चकित हुँदै खिसी गरेर यसो भन्नेछन्, ‘याहवेहले यस देश र यस मन्दिरलाई किन यसो गर्नुभएको होला?’
9तब मानिसहरूले यसो भनेर जवाफ दिनेछन्, ‘किनकि तिनीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुने याहवेह आफ्ना परमेश्वरलाई तिनीहरूले त्यागेका छन्, र अरू देवी-देवताहरूलाई स्वीकार गरेर तिनीहरूलाई पुजिरहेका छन्। यसैकारण याहवेहले यी सबै विपत्तिहरू तिनीहरूमाथि ल्याउनुभयो।’ ”
솔로몬이 세우고 얻은 것
10याहवेहको मन्दिर र राजमहल, यी दुई वटा भवनहरू बनाउन सोलोमनलाई बीस वर्ष लाग्यो। त्यो समयको अन्त्यमा, 11राजा सोलोमनले टायरका राजा हीरामलाई गालीलका बीस वटा नगरहरू दिए। किनकि हीरामले तिनलाई चाहिए जति देवदारु, सल्लाका काठ र सुन दिएका थिए। 12तर जब सोलोमनले हीरामलाई दिएका नगरहरू हेर्नलाई तिनी टायरबाट त्यहाँ गए, तिनले ती सहरहरू मन पराएनन्। 13अनि तिनले सोधे, “मेरा भाइ, तपाईंले मलाई यी कस्ता किसिमका नगरहरू दिनुभयो?” अनि तिनले तिनीहरूलाई काबूल देश भन्ने नाम दिए; जुन नाम आजको दिनसम्मै छँदैछ। 14हीरामले सोलोमनलाई 120 टालेन्ट सुन पठाएका थिए। 15राजा सोलोमनले याहवेहको मन्दिर, उनको राजमहल, कौसीहरू, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेजेर बनाउँदा ज्यालाविना खटाएका मानिसहरूको विवरण यस्तो छ। 16(इजिप्टका राजा फारोले गेजेरलाई आक्रमण गरेर जितेका थिए। अनि त्यसलाई आगो लगाइदिएका थिए। तिनले त्यस सहरमा बस्ने कनानीहरूलाई मारेर त्यो आफ्नी छोरी, अर्थात् सोलोमनकी पत्नीलाई उपहारस्वरूप दिए। 17अनि सोलोमनले गेजेरलाई पुनर्निर्माण गरे।) तिनले यी कुराहरू बनाए: तल्लो बेथ-होरोन,
18तिनको देशभित्र मरुभूमिमा भएको बालात र तादमोर, 19यसको साथमा आफ्ना रथहरू र घोडाहरू राख्न तिनले भण्डार सहरहरू र नगरहरू बनाए। अनि यरूशलेममा, लेबनानमा र तिनले शासन गरेका सबै प्रान्तहरूमा तिनले जे जति बनाउने इच्छा गरेका थिए, ती सबै पूरा गरे। 20बाँकी रहेका एमोरीहरू, हित्तीहरू, परिज्जीहरू, हिव्वीहरू, यबूसीहरू (यी मानिसहरू इस्राएली थिएनन्), 21अर्थात् तिनीहरूका देशमा बाँकी रहेका सन्तानहरू, जसलाई इस्राएलीहरूले नष्ट पार्न सकेका थिएनन्। सोलोमनले तिनीहरूलाई दासको रूपमा काम गर्न बाध्य बनाएका थिए, जुन आजको दिनससम्मै कायम छँदैछ। 22तर सोलोमनले इस्राएलीहरूबाट कसैलाई पनि दास बनाएनन्। तिनीहरू तिनका लडाकु मानिसहरू, सरकारी अधिकारीहरू, तिनका अधिकृतहरू र तिनका रथहरू र घोडचढीहरूका सेनापतिहरू थिए। 23सोलोमनले आफ्ना परियोजनाहरूमा काम गर्ने मानिसहरूमाथि रेखदेख गर्न 550 जना अधिकारीहरूलाई नियुक्त गरे। 24दावीदको सहरबाट फारोकी छोरी सोलोमनले तिनका निम्ति बनाएको राजमहलमा आएपछि तिनले कौसीहरू बनाए। 25सोलोमनले वर्षमा तीनपल्ट याहवेहका निम्ति आफूले बनाएको वेदीमा होमबलि र मेलबलि चढाउँथे। अनि यसका साथसाथै याहवेहको सामु धूप बाल्थे। यसरी तिनले मन्दिरमा गर्नुपर्ने कर्तव्यहरू पूरा गरे।
26राजा सोलोमनले लाल समुद्रको किनारमा, एदोमको एलोतको छेउमा भएको एस्योन-गेबेरमा जहाजहरू पनि बनाए। 27अनि हीरामले आफ्ना मानिसहरू, अर्थात् समुद्रका अनुभवी नाविकहरूलाई सोलोमनका मानिसहरूसित जहाजको बेडामा सेवा गर्न पठाए। 28तिनीहरू समुद्री यात्रा गरेर ओपीरमा गए। अनि चार सय बीस टालेन्ट सुन ल्याए, र ती सुन राजा सोलोमनलाई सुम्पिदिए।