로마서 1
바울이 로마 교회에 문안하다
1म पावल, ख्रीष्ट येशूको एक सेवक, प्रेरित हुनलाई बोलाइएको, र परमेश्वरका सुसमाचारको निम्ति अलग गरिएको हुँ, 2जुन सुसमाचार परमेश्वरले पहिले नै उहाँका अगमवक्ताहरूद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो। 3यो सुसमाचार उहाँका पुत्रको बारेमा हो, जो शरीरअनुसार राजा दावीदको वंशबाट जन्मनुभएको थियो। 4उहाँ येशू ख्रीष्ट हाम्रा प्रभु हुनुहुन्छ, जो मरेकाहरूबाट पुनरुत्थान भएर पवित्र आत्माको शक्तिद्वारा परमेश्वरका पुत्र नियुक्त हुनुभयो। 5उहाँको नामको खातिर विश्वासबाट आउने आज्ञाकारिताको निम्ति, सबै गैरयहूदीहरूलाई सुसमाचार सुनाउनका लागि हामीले उहाँद्वारा अनुग्रह र प्रेरितीय काम पाएका छौँ। 6अनि तिमीहरू पनि येशू ख्रीष्टका आफ्नै हुनलाई बोलाइएका मध्येका हौ। 7रोममा भएका सबैलाई, जो परमेश्वरका प्रिय र पवित्र जन हुनलाई बोलाइएका छन्:
내가 복음을 부끄러워하지 아니하노니
8सर्वप्रथम, म मेरा परमेश्वरलाई येशू ख्रीष्टद्वारा तिमीहरू सबैका निम्ति धन्यवाद चढाउँछु। किनकि तिमीहरूका विश्वासका कुराहरू सारा संसारमा प्रचार भइरहेको छ। 9परमेश्वर, जसको सेवा म उहाँका पुत्रको सुसमाचार प्रचारमा सम्पूर्ण हृदयले गर्दछु, उहाँ नै मेरो साक्षी हुनुहुन्छ कि कसरी म सधैँ मेरा प्रार्थनामा तिमीहरूलाई याद गर्दछु 10र मेरा हरेक प्रार्थनामा माग्दछु, कि अन्त्यमा परमेश्वरको इच्छाद्वारा तिमीहरूकहाँ आउनमा सफलता प्राप्त गर्न सकूँ। 11किनकि म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु, ताकि तिमीहरूलाई आत्मिक रूपमा बलियो बनाउनलाई केही आत्मिक वरदान दिन सकूँ 12अनि तिमीहरू र म एक-अर्काका विश्वासले प्रोत्साहित हुन सकौँ। 13दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरू अजान रहो भन्ने चाहन्नँ। गैरयहूदीहरूका बीचमा मैले आत्मिकी फल बटुलेझैँ तिमीहरूका बीचबाट पनि आत्मिकी फल पाउन सकूँ भनेर तिमीहरूकहाँ आउनलाई मैले धेरैपल्ट योजना बनाएँ, तर अहिलेसम्म यसो गर्नबाट रोकिएको छु। 14सभ्य होस् वा असभ्य होस्, शिक्षित तथा अशिक्षित, सबैको म ऋणी छु। 15त्यसैले रोममा बस्ने तिमीहरू सबैलाई सुसमाचार प्रचार गर्न म उत्सुक छु।
16किनकि म सुसमाचारसँग लजाउँदिनँ। किनभने यो परमेश्वरको शक्ति हो, जसले विश्वास गर्नेहरू सबैमा मुक्ति ल्याउँदछ: यहूदीलाई पहिले, त्यसपछि गैरयहूदीलाई। 17किनकि सुसमाचारमा परमेश्वरको धार्मिकता प्रकट भएको छ, जुन धार्मिकता सुरुदेखि अन्त्यसम्म विश्वासद्वारा नै आउँछ। धर्मशास्त्रमा यसरी लेखिएको छ: “धर्मी जनचाहिँ विश्वासद्वारा नै जिउनेछ।”
죄를 향한 하나님의 진노
18स्वर्गबाट परमेश्वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता तथा दुष्टताको विरुद्ध प्रकट भइरहेको छ, जसले सत्यतालाई आफ्ना दुष्टताद्वारा दबाइराखेका छन्। 19परमेश्वरको विषयमा जान्न सकिने कुरा उनीहरूको अगि प्रष्ट छ। किनभने परमेश्वरले नै यो कुरा उनीहरूलाई प्रष्ट पारिदिनुभएको छ। 20किनकि परमेश्वरका अदृश्य गुणहरू अर्थात् उहाँका अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका वस्तुहरूमा छर्लङ्गै देखिएका छन्। यसैले मानिसहरूलाई परमेश्वरको विषयमा जान्न नसकिने भन्ने कुनै किसिमको बहाना छैन। 21तिनीहरूले परमेश्वरलाई चिनेर पनि उहाँलाई परमेश्वरको रूपमा न महिमा दिए, न त धन्यवाद नै दिए। तर तिनीहरूको सोच व्यर्थ हुनगयो। तिनीहरूका मूर्ख हृदयहरू झन् अँध्यारा भए। 22तिनीहरूले आफू बुद्धिमान् छौँ भन्ने दाबी गरे तापनि मूर्ख नै बने। 23अविनाशी परमेश्वरलाई महिमा दिनुको साटो मरणशील मानिसजस्ता देखिने प्रतिमाहरू, चराचुरुङ्गी, जनावर र घस्रने जीवहरूका मूर्तिलाई महिमा दिए। 24यसकारण परमेश्वरले तिनीहरूका हृदयका खराब अभिलाषाहरूलाई यौन अशुद्धतामा छोडिदिनुभयो; ताकि तिनीहरूले एक-अर्कासँग आफ्ना शरीरमा अनादर गरून्। 25तिनीहरूले परमेश्वरको सत्यतालाई त्यागेर झूटसँग साटे, र सृष्टिकर्ताको सट्टामा, सृष्टि गरिएका वस्तुहरूको सेवा र आराधना गरे। सृष्टिकर्ता, जो सदासर्वदा प्रशंसाको योग्य हुनुहुन्छ, आमेन!
26यसैकारण परमेश्वरले तिनीहरूलाई शर्मलाग्दो कामवासनाका निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले पनि स्वभाविक शारीरिक सम्बन्धलाई अस्वभाविक सम्बन्धमा परिणत गरे। 27त्यसरी नै पुरुषहरूले पनि स्त्रीहरूसँगको स्वभाविक शारीरिक सम्बन्धलाई त्यागेर पुरुषहरूसँगै कामवासनाले जल्न लागे। पुरुषहरूले पुरुषहरूसँग निर्लज्ज शारीरिक सम्बन्ध राख्न लागे, र तिनीहरूले आफ्नो गल्तीको उचित दण्ड भोगे। 28यसरी तिनीहरूले परमेश्वरलाई स्वीकार गर्न उचित नठानेकाले परमेश्वरले पनि तिनीहरूलाई भ्रष्ट मन दिनुभयो; ताकि तिनीहरूले जुन काम गर्न नहुने हो त्यही गरून्। 29तिनीहरू हरेक प्रकारका दुष्टता, खराबी, लोभ, भ्रष्टताले भरिएका छन्। तिनीहरूका जीवन ईर्ष्या, हत्या, झगडा, छल र डाहले भरिएका छन्। तिनीहरू कुरा काट्ने, 30निन्दा गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, घमण्डी हुन्छन्; तिनीहरू दुष्ट काम गर्न नयाँ तरिकाहरू बनाउँछन्। तिनीहरू आफ्ना आमाबुबाका आज्ञापालन गर्दैनन्। 31तिनीहरू निर्बुद्धि, विश्वासघाती, निर्दयी र क्रूर हुन्छन्। 32यद्यपि यस्ता काम गर्नेहरू मृत्युका योग्य हुन्छन् भन्ने परमेश्वरका धार्मिक उर्दी तिनीहरूले जान्दछन् तापनि, तिनीहरू यस्ता काम गरिरहने मात्र होइन, तर यस्ता काम गर्नेहरूलाई समर्थन पनि गर्दछन्।