Job 5

Elifaz insta a Job a buscar a Dios

1“यदि तपाईं चाहनुहुन्छ भने एक चोटि पुकारेर हेर्नुहोस्, तर तपाईंलाई कसले जवाफ देला र? तपाईं कुनचाहिँ पवित्र जनकहाँ फर्कनुहुन्छ? 2रिसले मूर्खलाई मार्छ, र डाहले सोझा मानिसलाई मार्छ। 3म आफैँले मूर्खले जरा गाडेको देखेको छु, तर अचानक त्यसको घर श्रापित भयो। 4त्यसका छोराछोरीहरू असुरक्षित छन्; अदालतमा तिनीहरूलाई छुटाउनेवाला कोही नभएर पेलिएका छन्। 5त्यसको अन्‍नबारी भोकाएका मानिसहरूले खाइदिन्छन्, काँडाहरूका बीचबाट पनि निकालेर लगिदिन्छन्; र लोभीले त्यसको धन हडप्ने लालसा गर्छ। 6किनकि कठिनाइ माटोबाट उम्रँदैन, न त विपत्ति भुइँबाट पलाउँछ। 7तरै पनि आगोको झिल्का माथि उडेझैँ मानिस विपत्तिकै निम्ति जन्मन्छ। 8“तर यदि म तपाईंको ठाउँमा भएको भए, परमेश्‍वरलाई बिन्ती चढाउनेथिएँ; मेरो मामिला उहाँको सामु पेश गर्नेथिएँ।

9परमेश्‍वरले हामीले बुझ्नै नसकिने अद्‌भुत कार्यहरू, गन्‍नै नसकिने अचम्मका कामहरू गर्नुहुन्छ, 10उहाँले पृथ्वीको लागि वर्षा पठाउनुहुन्छ; उहाँले खेतबारीमा पानी पठाउनुहुन्छ। 11उहाँले नम्रहरूलाई उच्‍च पार्नुहुन्छ, र विलाप गर्नेहरूलाई सुरक्षामा उठाउनुहुन्छ। 12उहाँले धूर्तहरूका युक्तिलाई विफल पार्नुहुन्छ, ताकि तिनीहरूका हातले सफलता नपाऊन्। 13उहाँले बुद्धिमान्‌लाई त्यसकै धूर्ततामा पक्रनुहुन्छ; र बठ्याइँ गर्नेहरूका योजनाहरूको चाँडै अन्त्य हुन्छ। 14तिनीहरूमाथि दिउँसै अन्धकार आइलाग्नेछ; मध्यदिनमै तिनीहरू रातमा झैँ छामछाम-छुमछुम गरी हिँड्छन्। 15उहाँले खाँचोमा परेकाहरूलाई तिनीहरूका मुखमा भएको तरवारबाट बचाउनुहुन्छ; उहाँले तिनीहरूलाई शक्तिशालीहरूका पञ्जाबाट बचाउनुहुन्छ। 16त्यसकारण गरिबको निम्ति आशा छ; र अन्यायले आफ्नो मुख बन्द गर्छ।

17“धन्यको हो त्यो मानिस, जसलाई परमेश्‍वरले सुधार गर्नुहुन्छ; यसकारण सर्वशक्तिमान् परमेश्‍वरको अनुशासनलाई तिरस्कार नगर्नुहोस्। 18किनकि उहाँले घाउ पार्नुहुन्छ, तर उहाँले नै मलमपट्टी बाँध्नु पनि हुन्छ; उहाँले चोट पार्नुहुन्छ, तर उहाँको हातले निको पनि पार्नुहुन्छ। 19उहाँले तपाईंलाई छ वटा विपत्तिहरूबाट छुटाउनुहुनेछ; सातौँ विपत्तिले समेत तपाईंलाई छुनेछैन। 20उहाँले तपाईंलाई अनिकालमा मृत्युबाट, र युद्धमा तरवारको प्रहारबाट बचाउनुहुनेछ। 21तपाईं जिब्रोको प्रहारबाट जोगाइनुहुनेछ, र विनाश आउँदा पनि डराउनुपर्नेछैन। 22तपाईं विनाश र अनिकालमा हास्‍नुहुनेछैन; र जङ्गली जनावरहरूसँग पनि डराउनुपर्नेछैन। 23किनकि खेतका ढुङ्गाहरूसँग पनि तपाईंको करार बाँधिनेछ; र जङ्गली जनावरहरू तपाईंसँग मेलमिलापमा रहनेछन्। 24तपाईंको पाल सुरक्षित छ भनी तपाईंले जान्‍नुहुनेछ; तपाईंले आफ्नो सम्पत्तिको हिसाब लिनुहुनेछैन, र त्यस सम्पत्तिबाट केही पनि चीज हराएको भेट्टाउनुहुनेछैन।

25तपाईंका छोराछोरी धेरै हुनेछन्, र तपाईंका सन्तानहरू पृथ्वीका घाँसजस्तै हुनेछन् भनी तपाईंले थाहा पाउनुहुनेछ। 26ठिक ऋतुमा बाली बटुलेझैँ, तपाईं चिहानमा जाँदा पूरा बुढेसकालमा लगिनुहुनेछ। 27“हामीले यी कुरा जाँचेका छौँ, र यो सत्य हो। यसैले यो कुरा सुन्‍नुहोस् र आफैँमा यो लागू गर्नुहोस्।”

¡Copiado!
Aa