Génesis 22

El sacrificio de Isaac

1केही समयपछि परमेश्‍वरले अब्राहामलाई जाँच गर्नुभयो। उहाँले तिनलाई बोलाउनुभयो, “अब्राहाम!” तिनले जवाफ दिए, “हजुर, म यहाँ छु।” 2तब परमेश्‍वरले भन्‍नुभयो, “तैँले माया गरेको, तेरो एक मात्र छोरा, इसहाकलाई लिएर मोरीयाहको भूमिमा जा। म तँलाई जुन डाँडा देखाउनेछु, त्यहाँ त्यसलाई होमबलिको रूपमा चढा।” 3भोलिपल्ट बिहानै अब्राहाम उठे, र आफ्नो गधामा काठी कसे। अनि तिनले सेवकहरूमध्ये दुई जनालाई र आफ्नो छोरा इसहाकलाई आफ्नो साथमा लगे। तिनले होमबलिका निम्ति पर्याप्‍त दाउरा काटिसकेपछि परमेश्‍वरले तिनलाई भन्‍नुभएको त्यस ठाउँतिर हिँडे। 4तेस्रो दिनमा अब्राहामले आँखा उठाएर हेरे, र टाढैबाट त्यस ठाउँलाई देखे। 5तब अब्राहामले आफ्ना सेवकहरूलाई भने, “म र यो केटो अलिक पर जानेछौँ, र तिमीहरूचाहिँ यहीँ गधासँग बस। हामी आराधना गर्नेछौँ, र तिमीहरूकहाँ फर्केर आउनेछौँ।” 6अब्राहामले होमबलिको दाउरा उठाए र आफ्नो छोरा इसहाकलाई त्यो बोक्न लगाए; अनि तिनी आफूले चाहिँ आगो र छुरी बोके। ती दुई जब सँगै जाँदैथिए, 7तब इसहाकले आफ्ना बुबा अब्राहामलाई भने, “बुबा!” अब्राहामले जवाफ दिए, “भन्, मेरो छोरा!” इसहाकले भने, “आगो र दाउरा त यहाँ छन्, तर होमबलिका लागि थुमाचाहिँ कहाँ छ त?” 8अब्राहामले जवाफ दिए, “हेर् छोरा, परमेश्‍वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ।” त्यसपछि ती दुवै सँगसँगै हिँड्दै अगि बढे।

9जब तिनीहरू परमेश्‍वरले भन्‍नुभएको त्यस ठाउँमा आइपुगे, तब अब्राहामले त्यहाँ एउटा वेदी बनाए; र त्यसमाथि दाउरा मिलाएर राखे। अनि तिनले आफ्नो छोरा इसहाकलाई बाँधे, र वेदीमा दाउरामाथि राखे। 10तब अब्राहामले आफ्नो छोरालाई मार्न भनी हात छुरीतिर अगि बढाए।

El Señor provee el cordero

11तर स्वर्गबाट याहवेहका दूतले तिनलाई यसो भनेर बोलाए, “अब्राहाम! ए अब्राहाम!” तिनले जवाफ दिए, “हजुर, म यहाँ छु।” 12अनि उनले भने, “त्यस केटामाथि हात नउठा। त्यसलाई केही नगर्। तँ परमेश्‍वरको डर मान्‍ने मानिस रहेछस् भनी अब मलाई थाहा भयो; किनकि आफ्नो एक मात्र छोरालाई बलिदान चढाउनदेखि तँ पछि हटिनस्।” 13तब त्यही समय अब्राहामले नजिकै झाडीमा सिङ अल्झेर बसेको एउटा साँढ-भेडा देखे। त्यसपछि तिनले त्यस भेडालाई ल्याए; अनि त्यसलाई आफ्नो छोराको सट्टामा होमबलिको रूपमा चढाए। 14यसकारण अब्राहामले त्यस ठाउँलाई “याहवेह-यिरे” भनेर नाम राखे; अनि आजसम्म “याहवेहको पर्वतमा जुटाइनेछ” भन्‍ने चलन छ। 15तब याहवेहका दूतले स्वर्गबाट अब्राहामलाई दोस्रोपल्ट बोलाए, 16र भने, “मैले आफ्नै नाममा शपथ खाएको छु, भनी याहवेह घोषणा गर्नुहुन्छ, कि तैँले यो काम गरेको छस्, र तैँले आफ्नो एक मात्र छोरालाई मबाट नरोकेको कारण, 17म निश्‍चय तँलाई आशिष् दिनेछु; अनि तेरा सन्तानहरूलाई आकाशका ताराझैँ र समुद्रको किनारका बालुवाजस्तै असंख्य वृद्धि गर्नेछु। तेरा सन्तानहरूले आफ्ना शत्रुहरूका सहरहरू अधिकारमा लिनेछन्; 18अनि तेरा सन्तानहरूद्वारा पृथ्वीका सबै राष्ट्रहरूले आशिष् पाउनेछन्; किनकि तैँले मेरो आज्ञापालन गरेको छस्।”

19तब अब्राहाम आफ्ना सेवकहरूकहाँ फर्केर आए; अनि तिनीहरूसँगै बेर्शेबातिर गए, र तिनी बेर्शेबामै बस्‍न थाले।

Los hijos de Nacor

20केही समयपछि अब्राहामकहाँ यस्तो खबर आयो, “मिल्का पनि आमा भइन्; तिनले तपाईंका दाजु नाहोरका निम्ति छोराहरू जन्माएकी छिन्: 21जेठोको नाम ऊज र माहिलोको नाम बूज; अनि साहिँलोको नाम कमूएल (अरामका पिता) हो; 22अरू छोराहरूका नाम केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल हो।” 23बतूएल रिबेकाका पिता भए। 24नाहोरकी उपपत्नीको नाम रूमा थियो; तिनले पनि छोराहरू जन्माइन्: तिनीहरूका नाम तेबह, गहम, तहस र माका थिए।

¡Copiado!
Aa